PahiloPost

Feb 1, 2025 | १९ माघ २०८१

हत्याआरोपीलाई सहयोगदेखि तस्करीको आरोप लागेकासम्म एसपीमा बढुवा सिफारिश, सूचीमा नयाँ राख्ने तयारी



सविन ढकाल

हत्याआरोपीलाई सहयोगदेखि तस्करीको आरोप लागेकासम्म एसपीमा बढुवा सिफारिश, सूचीमा नयाँ राख्ने तयारी

काठमाडौँ : कारबाहीका लागि सिफारिश भएका पाँच जना डिएसपीलाई एसपीमा बढुवामा सिफारिस गरिएको भेटिएपछि ती मध्ये केहीलाई सूचीबाट हटाउने तयारी भइरहेको छ। 

आइतबार राति प्रहरी प्रधान कार्यालयले सिफारिश गरेका ३५ जना डिएसपी मध्ये ५ जना विभागीय कारबाहीमा परेको खुल्न आएको हो। 

बढुवाको ३५ नम्बरको सिफारिशमा रहेका संजीव शर्मा दास ६ वर्ष अगाडि रामेछापको लिखु गाउँपालिका २ सैपुकी १४ वर्षीया सुन्तली तामाङको बलात्कार अनि हत्यामा संलग्न आरोपीलाई सहयोग गरेको आरोपमा हेडक्वार्टर तानिएका थिए। उनीसँगै घटनालाई दबाएको र पीडितलाई सहयोग नगरेको भन्दै १२ जना प्रहरीलाई कारबाही गरेको थियो। 

बढुवा सूचीको सातौँ नम्बरमा रहेका ओमबहादुर राणा पनि विवादित प्रहरीको सूचीमा छन्। राणा रसुवामा हुँदा रक्तचन्दन तस्करी गरेको र महानगरीय प्रहरी वृत्त बौद्धमा प्रमुख हुँदा तिब्बतीसँग पैसा उठाएको उजुरी परेपछि महानगरीय आयुक्त कार्यालय रानीपोखरी तानिएका थिए। 

हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत रामेश्वरप्रसाद यादवको पनि प्रहरी संगठनमा राम्रो छवि छैन। यादव रौतहटमा कार्यरत हुँदा लागुऔषध तस्करसँग आर्थिक कारोबार गरेको उजुरी परेपछि कारबाहीमा परेका थिए। त्यसो त यादवलाई अख्तियार अनुसन्धान दुरुपयोग आयोगको टोलीले १ लाख घुससहित पनि पक्राउ गरेको थियो। पक्राउपछि उनलाई विभागीय कारबाही भएको थियो। 

बढुवा सूचीको ३४ औं स्थानमा रहेका दीलिपसिंह देउवा पनि पटक-पटक कारबाहीमा पर्दै आएका प्रहरी हुन्। प्रहरी निरीक्षकको तालिममा नै उनी पहिलो पटक तालिममा असफल भएपछि दोस्रो पटक तालिम दिएर पास भएका थिए। अत्याधिक मदिरा सेवन अनि युवति काण्डमा पटक-पटक कारवाहीमा पर्दै आएका छन्।

त्यस्तै सूचीमा रहेका लोकेन्द्र श्रेष्ठ पनि युवती काण्डपछि सिन्धुलीमा कार्यरत हुँदा प्रहरी प्रधान कार्यालय तानिएका हुन्। 

बढुवा सुचिको पहिलो स्थानमा रहेका सिद्धिविक्रम शाह पनि दरबारको आडमा संगठनभित्र छिरेको र  सुडान काण्डमा उनको भूमिका रहेको आरोप लाग्दै आएको छ।
 

पाँच मध्ये तीन जनाको नाम हटाउने तयारी

विभिन्न कारबाहीमा परेका माथिका पाँच जना मध्ये तीन जनाको नाम बढुवा सूचीबाट हटाउने तयारी भइरहेको हेडक्वार्टर स्रोतले जानकारी दिएको छ। डिएसपी संजीव शर्मा दासको नाम हट्ने पक्कापक्की भए पनि अन्य दुई जना कसलाई हटाउने र को ल्याउने विषयमा छलफल भइरहेको स्रोतले बताएको छ।


गत वर्ष १० डिएसपी कारबाहीमा 

प्रहरी प्रधान कार्यलयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा हालसम्म २ जना एसएसपी, ९ जना एसपी, १० जना डीएसपी, २२ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) ७९ जना प्रहरी नायव निरीक्षक (सई), १ सय ५ जना प्रहरी सहायक निरीक्षक (असई) लाई विभिन्न उजुरी र अभियोगमा विभागीय कारबाही गरेको छ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell