
रत्ननगर: चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलविरेमा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको छ।
आज बिहान ४ बजे खसेको सुख्खा पहिरोका कारण यहाँ गाडी चल्न सकेको छैन। अहिले पहिरो पन्छाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।
इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने जलविरेमा यो वर्षा लागेपछि पहिलोपटक पहिरो खसेको हो।
यसअघि चितवनको कालीखोला आसपास क्षेत्रमा मात्रै बढी पहिरो खस्दै आएको थियो। सोमबार साँझदेखि रोकिएका गाडी पहिरोका कारण आज जान पाएका छैनन्। पहिरो पन्छाउन केही घण्टा लाग्ने जनाइएको छ।
जिप्रका, चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार असार २५ देखि रातिको समयमा गाडी रोकेर बिहानमात्रै पठाउने गरिएको छ। पहिरोले सबै गाडी रोकिएका छन्।
ठूला बस, मिनीबस, माइक्रोबस तथा साना सवारीसाधनलाई चितवनको दासढुंगा पुल आसपास क्षेत्रमा साँझ ६ बजे रोक्ने र बिहान ४ बजे छाड्ने गरिएको छ।
पोखराबाट आउने सवारीलाई तनहुँको आँबुखैरेनीमा र काठमाडौँबाट आउनेलाई मुग्लिन बजारमा रोक्ने गरिएको छ। ती सवारीसाधनलाई साँझ ७ बजे रोक्ने र बिहान ५ बजे छाड्ने गरिएको छ।
यस्तै, चितवनबाट जाने ट्रकलाई जुगेडी चौकी आसपासमा साँझ ६ बजे रोक्ने र बिहान ४ बजे छाडिने गरिएको छ।
पोखराबाट आउने ट्रकलाई साँझ ७ बजे तनहुँको आँबुखैरेनीमा रोक्ने तथा काठमाडौंबाट आउने ट्रकलाई कुरिनटार नजिकै लेवाटारमा रोक्ने र दुवै क्षेत्रका ट्रकलाई बिहान ५ बजे छाडिने गरिएको भए पनि आज भने पहिरोका कारण सबै गाडी रोकिएका छन्। रासस