
टोकियोः जापानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने फुकुओका र ओइटा प्रदेशमा बाढी पहिरोका कारण मृत्यु हुनेहरुको सङ्ख्या बढेर ३४ पुगेको छ।
जुलाई पाँचमा अविरण वर्षापछि आएको बाढी पहिरोमा परी अरु सात जना अझै पनि हराइरहेको अधिकारीहरुले जनाएका छन्।
सोमबार मात्रै थप दुई जनाको शव बाढीपहिरो प्रभावित क्षेत्र भन्दा झण्डै १० किलोमिटर टाढा भेटिएपछि मृत्यु हुनेहरुको सङ्ख्या ३४ पुगेको हो।
बाढी पहिरो प्रभावित क्षेत्रमा हराईरहेकाहरुको खोजी गर्न बगेर आएको माटो हटाउन र भत्किएका घरहरुको काठ निकाल्न जापानको प्रतिरक्षा बल र अग्नि नियन्त्रक खटिएका छन्।
त्यसैगरी झण्डै नौ हजार जना स्वयमसेवकहरु पनि बाढी पहिरोले क्षति पुर्याएका ठाउँमा सहयोगका लागि क्रियाशील रहेका अधिकारीहरुले जनाएका छन्।
प्रकोप प्रभावित क्षेत्रमा सोमबार उच्च तापक्रम महशुस गरिएको छ। स्थानीय असाकुरा र हिटा भन्ने दुई ठाउँ निकै गर्मी हुने ठाँउ मानिन्छन्।
ती दुई ठाउँमा सोमबार क्रमशः ३४.८ र ३६.२ डिग्री सेल्सीयस ताप मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ। रासस/सिन्ह्वा