काठमाडौं : १७ महिनाअघि खुलेको नेपालको एकमात्र विद्युतीय शवदाह गृह बन्द भएको तीन साता पुगेको छ। असार १७ गतेदेखि बन्द भएको भएको पशुपति आर्यघाटस्थित शवदाह गृह बन्न अझै २० दिनभन्दा बढी लाग्ने शवदाह गृहका प्रशासकीय अधिकृत कुमार थापा मगरले जानकारी दिए।
किन बन्द भयो शवदाह गृह ?
प्रशासकीय अधिकृत मगरका अनुसार शवदाह गृहको चिस्यान मेसिन र हावा निकाल्ने मेसिन बिग्रिएको छ। मेसिनका पाटपूर्जाहरु निकालेर बनाउन समय लाग्ने भएकाले शवदाह गृह सञ्चालन हुन अझै केही समय लाग्छ।‘मेसिन हालेर प्लास्टर गर्नुपर्छ। मोटर हल्लिएर बनाउनु परेको हो,’ ‘मगरले थपे, ‘शवदाह गृहको पुरानो कार्यसमितिको म्याद सकियो । अर्को कार्यसमिति बनेर शवदाह गृह बनाउनुपर्ने भएकाले ढिलो भएको हो।’
कहिले बनिसक्छ त नयाँ कार्यसमिति?
कार्यसमिति नयाँ कहिले बन्ने उनलाई जानकारी छैन। कार्यकारी समिति नबने पनि चाँडै शवदाह गृह मर्मतको काम थाल्ने उनी बताउँछन्।शवदाह गृहले मेसिन बिग्रिएको सूचना दैनिक पत्रिकामा सार्वजानिक गरेको थियो। तर बन्द भएको धेरैले थाहा पाएनन्। ‘अझै दिनमा ५ जना भन्दा बढी लाश लिएर आउँछन्,’ मगरले भने, ‘सूचना हेरेर फर्किन्छन्। लाश आर्यघाटमा लिएर जान्छन्।’
पशुपति क्षेत्रमा अहिले ११ वटा घाटहरु सञ्चालनमा छन्। आर्यघाटमा दैनिक सरदर ३० देखि ४० वटासम्म लाश आउँछ। ती सबै लाशलाई दाहसंस्कार गर्ने क्षमता आर्यघाटले राख्छ भने विद्युतीय शवदाह गृह बिग्रिएकाले आएको लाशपनि आर्यघाटमा नै फकाईदिनुपर्ने अवस्था छ।
कस्तो थियो पहिलेको अवस्था ?
२०७२ साल माघ १० गते शवदाह गृह उद्घाटन हुदाँ धेरैको आशंका थियो, ‘फाइदा यसले जत्तिनै गरेपनि यसको भविष्य छैन।’२०७२ माघ २७ गते पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भयो। उनको दाहसंस्कार पशुपतिको आर्यघाटमा नगरी विद्युतीय शवदाह गृहमा गर्ने भनियो। तर, अन्तिम अवस्थामा उनको दाहसस्कार पशुपति आर्यघाटमा भयो।
त्यसपछि, विद्युतीय शवदाह गृह चल्दैन भन्ने टिप्पणी धेरै आए। तर, त्यस्तो भएन।
शवदाह गृह स्थापना भएको १७ महिनामा ५५ सय ७१ वटा शवहरु एउटा मात्र मेशिनले खरानी बनायो। नभ्याएर दिनहुँजसो लाश फर्काइयो। यसले शवदाह गृहको सफलता देखाउँछ।
दैनिक १२ देखि १४ वटा लाशलाई खरानी बनाएको शवदाह गृहको तथ्यांकमा छ। त्यो भन्दा बढी लाश खरानी बनाउने क्षमता विद्युतीय शवदाह गृहमा छैन। शवदाह गृहका कर्मचारीहरुका अनुसार ३ देखि ४ वटा लाश खरानी बनाउन नभ्याएर आर्यघाट फर्काउनुपर्ने अवस्था थियो।
किन चाहिन्छ शवदाह गृह ?
आर्यघाटमा लाश जलाउँदै गर्दा भाटाले हानिन्छ, घोचिन्छ। लाशलाई बाँसको भाटाले घोचेको दृश्य हृदयविदारक देखिन्छ। शरीरका विभिन्न अंगप्रत्यंगहरु जल्दै गर्दा ठूलो आवाजमा पड्किन्छ। उक्त आवाज सुन्दै गर्दा मृतकका आफन्तको रोदन उस्तै हुन्छ।आफ्नै आँखाअगाडि आफ्नै मान्छे जलेको देख्दा रुँदै बेहाश हुन्छन्। होश नखुलेर अस्पताल लानुपर्ने अवस्था आउँछ।
लाशलाइ बासको भाटाले हानेको नदेख्न, अंग प्रत्यंग पड्केको नसुन्न र आफ्नै आफन्त आखाँ अगाडी आगोमा जलेको नदेख्नको लागि विद्युतीय शवदाह गृह उपयुक्त हुन्छ।
विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्न एउटा लाशको ४ हजार रुपैया तिर्नुपर्छ। १० वर्ष मुनिको लाशलाई दाहसस्कार गरेको २ हजार तिर्नुपर्ने प्रशासकीय अधिकृत मगर बताउँछन्।
पशुपति आर्यघाटमा लाश जलाएको ३ देखि ४ घण्टासम्म लाग्छ। खर्चको दृष्टिले विद्युतीय शवदाह गृहभन्दा ३ दोब्बर महँगो छ। अर्थात्, आर्यघाटमा साधारण तरिकाले दाहसंस्कार गर्नको लागि १२ हजारदेखि १४ हजारसम्म तिर्नुपर्छ। वियोगको बेला मानिसहरु रकममा बार्गेनिङ गर्ने अवस्थामा हुँदैनन्।
विद्युतीय शवदाह गृहमा शव चिस्यान केन्द्र पनि छ। जहाँ तत्कालै दाहसस्कार गर्न नमिल्ने र मृतकका आफन्तहरु कुर्नुपर्ने लाशहरु राख्न मिल्छ।
उक्त शव चिस्यान केन्द्रमा एकैचोटीमा २५ वटा लाशहरु राख्न मिल्छ। एउटा लाशको एकदिनको ७ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ। आँखादानको इच्छुकहरुको लागि समेत शवदाह गृहमा आँखादानको व्यवस्था छ।
वातावरणीय दृष्टिले पनि शवदाह गृह घाटभन्दा उपयुक्त हुन्छ।
आर्यघाटमा जस्तै दाहसंस्कारका कार्यहरु शवदाह गृहमा पनि गरिन्छ। कपाल काट्ने, लाशको वरिपरि घुम्ने, जल अर्पण गर्ने र पूजा गर्ने कार्यलगायत अन्य संस्कारका सबै कामहरु हुन्छ।
मेसिन बनेपनि भ्याउँदैन?
शवदाह गृहमा जम्मा दुई वटा मेशिन राखिएको छ। दुई वटा मेसिन एकैचोटी चलाउन मिल्दैन। मगर भन्छन्, ‘एउटा मेशिन जम्मा १५ दिनजति चलाएर मर्मत गर्नुपर्छ। एउटा मर्मत गर्दा अर्को चलाउने हुनाले एउटा मेसिनले धेरै लाश खरानी बनाउन भ्याउँदैन।’
मगरका अनुसार शवदाह केन्द्रमा तीन वटा मेसिन राख्ने ठाउँ छ। मेसिन दुई वटा मात्रै छ । एउटा शव जलाउन १ घण्टा लागेपनि सबै काम पुरा गर्न लगभग अर्को आधा घण्टा लाग्छ। त्यसैले आए जति शवहरु विद्युतीय मेसिनबाट जलाउन सम्भव हुँदैन। यस्तो अवस्थामा मेशिन बनाउने र थप्ने सुरसार छैन।