PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

धादिङमा पहिरोको जोखिमः प्रुन्दुङ गाउँका बासिन्दाको जंगलमा बास



रासस

धादिङमा पहिरोको जोखिमः प्रुन्दुङ गाउँका बासिन्दाको जंगलमा बास

धादिङ : उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं २ रि गाउँस्थित प्रुन्दुङगाउँ पहिरोको जोखिममा परेपछि गाउँका बासिन्दा घर छाडेर जंगलमा बस्न थालेका छन्। 

केही दिनदेखिको वर्षाका कारण रिगाउँ मावि तलको भिर पहिरो लड्नै लागेको छ। जमिन फाटेर एक मिटर ठूलो धाँजा फाटेपछि प्रुन्दुङगाउँबासी घर छाडेर जंगलमा बसेका गंगाजमुना – २ का वडाध्यक्ष फैसिंह तामाङले जानकारी दिए। 

प्रुन्दुङ गाउँमा तामाङ समुदायका १२ घर छन् । गाउँबासी सबैले सोमबारदेखि नै घर छाडेका पहिरो प्रभावित अमृत तामाङले बताए। यससँंगैको सल्लेमा पनि सात घर छन्। पहिरोको जोखिम बढेकाले उनीहरु सबैको पुनःस्थापना गर्नुपर्ने अवस्थामा रहेको गाउँबासीको भनाइ छ। 

सदरमुकाम धादिङबेंसीबाट एक दिनको पैदल दूरीमा रहेको प्रुन्दुङ गाउँका बालबालिका र वृद्धलाई खुला आकाशमुनि बस्नुपर्ने भएपछि समस्या परेको र भूकम्पपछि गाउँमा जोखिम बढे पनि समाधान गर्न नसकिएको वडाअध्यक्ष तामाङको भनाइ छ। 

वर्षाका समयमा गाउँ नजिकै सवारी साधन पुग्न सक्ने अवस्था छैन। गाउँमा आपत्कालीन अवस्थामा बस्नका लागि त्रिपालसमेत नभएको र सामुदायिक आवास भवन गाउँबाट टाढा भएकाले समस्या परेको गाउँबासीको गुनासो छ।

गाउँ जोखिममा परेका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धादिङमा खबर गएकाले गाउँबासीलाई सुरक्षित गरिने जानकारी दिइएको छ।

विसं २०७२ वैशाख १२ को भूकम्पपछि रि गाउँबासी पहिरोको उच्च जोखिममा रहेपनि वैकल्पिक व्यवस्था नहुँदा जोखिमपूर्ण अवस्थामा गाउँमा नै बस्दै आएका छन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell