नेपालगञ्ज : नेपाल चिकित्सक संघ, भेरी अञ्चल समितिको आह्वानमा आजदेखि बाँके जिल्लामा सञ्चालित सबै अस्पतालका सेवा बन्द गरिएको छ।
गत असार २८ गते नेपालगन्जस्थित जानकी अस्पतालका चिकित्सक डा श्यामसुन्दर यादवलाई दुव्र्यवहार गर्ने अभियुक्तमाथि स्थानीय प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएको विरोधमा संघले आजदेखि अनिश्चितकालीन अस्पताल बन्दको आह्वान गरेको हो।
संघका सचिव डा आरके झाका अनुसार चिकित्सक डा यादवमाथि दुव्र्यवहार र अस्पतालमा क्षति पुर्याउने पाँच जनाको नाम किटान गरी निवेदन दिंदासमेत स्थानीय प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएकाले बाध्य भएर आन्दोलन आह्वान गरिएको हो।
सङ्घको आह्वानमा यहाँका सरकारी तथा निजी अस्पताल र निजी क्लिनिकसमेत बन्द गरिए पनि अस्पतालका आपत्कालीन सेवा भने सञ्चालनमा राखिएको छ।
संघले सो घटनामा सन्दीप सिंह, यादव बस्याल, कमल शाही र महेश खतिवडा अभियुक्त भएको किटानी जाहेरी दिएको थियो।
अहिले जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षबीच घटनाका विषयमा छलफल भइरहेको बाँकेका प्रजिअ रविलाल पन्थले जानकारी दिए।
अस्पतालका सेवा बन्द गरिएकाले टाढा टाढाबाट उपचारका लागि नेपालगञ्ज आएका बिरामी र तिनका आफन्तले सास्ती भोग्नुपरेको छ। रासस