बलिउड इन्डस्ट्रीमा फिल्म निर्माण, निर्देशन, लेखनदेखि अभिनयसम्मका सबै कामहरु गर्ने करण जौहरले सेरोगेसी मार्फत दुई सन्तान अपनाए। एक छोरा र एक छोरी। बने अविवाहित बुवा।
करणले आफ्नो किताब 'एन अनस्विटएबल बोए'को विमोचनमा आफूलाई पिता बन्न मन लागेको अभिव्यक्ती दिएका थिए। किताब सार्वजनिक भएको दुई महिनापछि उनले ट्विटर मार्फत आफू पिता बनेको बारे जानकरी दिए। छोराको नाम यश र छोरीको नाम रुही राखेको पनि करणले जनाएका छन्। सन्तान जन्मिएको एक महिना पछि मात्र खबर सार्वजनिक गरे। कारण थियो- उनीहरुको स्वास्थ्य।
खबर सार्वजनिक भएको चार महिना बित्दा पनि उनले यश र रुहीको फोटो सार्वजनिक गरेका थिएनन्। मङ्गलबार भने उनले आफ्नो इन्स्टाग्राम अकाउन्ट मार्फत जुडुवा छोराछोरीको झलक दिए। तर फोटोमा उनीहरुको अनुहार भने देखाएका छैनन्। फिल्मी भाषामा भन्दा करणको छोराछोरीको फोटोको टिजर मात्र सार्वजनिक भएको हो।
आइफा अवार्डका लागि अमेरिका पुगेका उनले छोराछोरीलाई सम्झिएको जनाउँदै फोटो पोस्ट गरेका हुन्। साथै उनले यश र रुहीको पुरा फोटो चाडै सार्वजनिक गर्ने समेत लेखे। बलिउडमा आमिर खान र शाहरुख खान पछि सेरोगेन्ट मार्फत सन्तान अपनाउने करण तेस्रो व्यक्ती हुन्।