
काठमाडौँ : भूकम्पबाट क्षतिग्रस्त भएका बौद्ध सम्पदाको पुनर्निर्माण अझै सुरु हुन सकेको छैन।
मुलुकभर बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा एक हजार ३०० भन्दा बढी बौद्ध गुम्बा छन्। तीमध्ये नौ सय ९३ गुम्बा भूकम्पबाट क्षतिग्रस्त भएका थिए।
गुम्बा पुनर्निर्माणका लागि विदेशी दातृ मुलुकबाट करिब आठ अर्ब ९३ करोड सहयोग प्राप्त भएको थियो।
भूकम्प प्रभावित गुम्बा, विहार पुनर्निर्माण सङ्घर्ष समितिले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले हालसम्म क्षतिग्रस्त गुम्बाको पुनःनिर्माण कार्यको थालनी नगरेको जानकारी दिइयो।
सरकारले भूकम्पबाट क्षतिग्रस्त गुम्बालाई पाँच वर्गमा वर्गीकरण गरी ‘क’ वर्गको ४९ गुम्बालाई एक करोड पाँच लाख, ‘ख’ वर्गको ६३ गुम्बालाई ८२ लाख, ‘ग’ वर्गको १९० गुम्बालाई रु ७१ लाख, ‘घ’ वर्गको गुम्बालाई ६१ लाख र ‘ङ’ वर्गको गुम्बालाई ५१ लाख दिने निर्णय गरेको थियो।
वर्ग विभाजनलाई पनि सङ्घर्ष समितिले विरोध गरेको छ ।
सङ्घर्ष समितिका संयोजक सानुबाबु लामाले गुम्बाको पुनर्निर्माण कार्यको थालनी नभएको तथा बजेट बीचमा नै हराउने स्थिति आएको भन्दै त्यसविरुद्ध सरकारसमक्ष १० बुँदे माग बुझाइएको बताए।
उनले नयाँ कार्यविधि खारेजसहित पुनर्निर्माण कार्य सुरु नगरेमा साउन ८ गतेदेखि आन्दोलन गर्ने जानकारी दिए।
पूर्वमन्त्री सूर्यमान गुरुङले गुम्बाभित्रका प्राचीन चित्र, मुर्ति तथा अन्य बहुमूल्य वस्तु संरक्षण तथा ती गुम्बा पनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउँदै धर्म निरपेक्ष राष्ट्र घोषणा भइसक्दा पनि बौद्ध धर्म, संस्कति तथा गुम्बा संरक्षणमा सरकार उदासीन भएको आरोप लगाए।
उनले ९९३ क्षतिग्रस्त गुम्बामध्ये हालसम्म एउटा गुम्बाको पनि पुनर्निर्माण सुरु नगरेको बताए।
धर्मगुरु ग्याल्सो लामाले गुम्बा पुनर्निर्माणका लागि दातृ संस्थाबाट आएको रकम कहाँ गयो भनी प्रश्न गर्दै गुम्बा विकास समिति तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गुम्बा पुनर्निर्माणमा चासो नदिएको आरोप लगाए।रासस