PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

यस्तो छ उपत्यकामा ‘स्काई रेल’ सञ्चालन गर्ने योजना, निर्माणका लागि २ वर्ष लाग्ने 



रासस

यस्तो छ उपत्यकामा ‘स्काई रेल’ सञ्चालन गर्ने योजना, निर्माणका लागि २ वर्ष लाग्ने 
फोटो श्रोतः newswire.com

काठमाडौँ : काठमाडौँ महानगरपालिकालाई साइमिक्स इङ्क प्रालिका प्रतिनिधिले ‘स्काई रेल’ सञ्चालनसम्बन्धी प्रारम्भिक प्रतिवेदन बुझाएका छन् । 

कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाएका हुन्। 

प्रतिवेदन बुझ्दै प्रमुख शाक्यले ललितपुर महानगरपालिका र काठमाडौँका छिमेकी नगरसँग समन्वय गरेर उपयुक्त प्रस्तावका विषयमा थप काम गरिने जानकारी दिए। 

कम्पनीका अध्यक्ष पाण्डेले तिलगङ्गाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नयाँबानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलङ्कीसम्म ‘स्काई रेल’ सञ्चालन गर्न सकिने बताए। 

त्यस्तै नारायणगोपाल चोकबाट ललितपुरको एकान्तकुना, चक्रपथ वरिपरि तथा स्वयम्भूबाट बौद्धसम्म पनि ‘स्काई रेल’ सञ्चालन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ। 

कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दूरीको लिक बनाउन ३० करोड अमेरिकी डलर र दुई वर्ष समय लाग्छ । ‘मेट्रो रेल’को तुलनामा ‘स्काई रेल’ सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने छ। 

प्रतिवेदनअनुसार कामपामा सञ्चालन गरिने रेलमा तीन वटा डिब्बा मात्र राख्न सकिने भए पनि सामान्यतया एउटा रेलमा आठ वटासम्म डिब्बा राख्न सकिन्छ। रेलको एउटा डिब्बामा २०० यात्रु अट्न सक्छन्। 

चिनियाँ कम्पनी विवाइडीसँगको सहकार्यमा गरिएको सम्भाव्यता अध्ययनमा लागतसहितको अन्य विवरण भने विस्तृत परियोजना प्रतिवेदनमा मात्र थाहा हुनेछ। कामपा र साइमिक्सबीच ‘स्काई रेल’ सञ्चालन सम्भाव्यता अध्ययनका लगि गत माघ २६ गते सम्झौता भएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell