PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २५ गैँडा मरे



पहिलोपोस्ट

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २५ गैँडा मरे

रत्ननगर: चितवन राष्ट्रिय निकुञ्ज तथा आसपास क्षेत्रमा गएको एक वर्षमा विभिन्न कारणले २५ वटा गैँडा मरेका छन्।

चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले दिएको जानकारीअनुसार २१ वटा गैँडा प्राकृतिक कारणले मरेका भएपनि चारवटा गैँडा भने मानवीय कारणले मरेका हुन्।

अघिल्लो वर्षको साउनदेखि अहिलेसम्म मरेका २५ गैँडामध्ये एउटा तस्करबाट र दुईवटा करेन्ट लागेर मरेका छन्। एउटा गैँडा भने रौतहटमा गोली लागि उपचारका क्रममा चितवन ल्याइएकोमा पछि मरेको हो।

उनले अघिल्लो वर्ष विभिन्न कारणले १५ वटा गैँडा मरेकामा यो वर्ष बढेर २५ वटा पुगेको जानकारी दिए। “यो वर्ष भने १० वटा बढी गैँडा मरे”, अर्यालले भने, “दुईवटा करेन्ट लागेर, एउटा तस्करबाट र एउटा रौतहटमा गोली लागेर ल्याइएको गैँडा मर्‍यो। अरु बाँकी २१ वटा प्राकृतिक कारणले मरेका छन्।”

एउटा गैँडा चौधरी ग्रुपले सञ्चालन गरेको मेघौली सेराइ होटलले छाडेको करेन्ट लागेर मरेको थियो। अर्को गैँडा पनि नवलपरासीको गैँडाकोटमा करेन्ट लागेर मरेको निकुञ्जले जनाएको छ।

अर्को एउटा पश्चिम चितवनको जगतपुरमा शून्य चोरी शिकार वर्षको एक हजार ७१ दिनपछि गएको चैतमा तस्करबाट गैँडा मारिएको हो।

अन्य २१ वटामध्य एउटा गैँडा बच्चा जन्माउन नसकेर तथा अन्य गैँडा बूढो भएर, जुधेर, अन्य गैँडाले हानेर तथा लडेर मरेका अर्यालले जानकारी दिए। मरेकामध्ये दुईवटा गैँडामात्रै जिल्ला वन कार्यालयको क्षेत्रमा तथा अरु सबै चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्रका घटनामा भएको जनाइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell