
लमजुङ : मर्स्याङदी नदीमा ट्रक खस्दा एक जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा ट्रकका सहचालक राजन रहेको बताइएको छ । सदरमुकाम बेंसीसहरबाट मनाङतर्फ गइरहेको बा २ ख ९६०६ नम्बरको मालबहाक ट्रक मस्र्याङदी गाउँपालिका– २ स्याँगे भन्ने स्थानबाट मस्र्याङदी नदीमा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परी ट्रक चालक अनिल श्रेष्ठ र सोही ट्रकमा सवार जिल्ला जनस्वास्थ्य कार्यालय मनाङका कर्मचारी सुवास अधिकारी घाइते भएका छन्।
दुबैजनालाई स्थानीयवासीले नदीबाट उद्धार गरेका छन् । घाइते दुबै जनालाई उपचारका लागि सदरमुकाम बेँसीसहर ल्याउँदै गरिएको प्रहरीले जनाएको छ।
नदीमा खसेर दुई टुक्रा भएको ट्रकको एक भाग नदीले बगाएको छ भने एक भाग नदी छेउमा रहेको छ। ट्रकमा रेफ्रिजेरेटर, इन्भरर्टरलगायतका सामान रहेका थिए । स्थानीयवासी पदम गुरुङकाअनुसार दुर्घटनास्थल भन्दा दुई किलोमिटर तलसम्म रेफ्रिजेरेटर भेटिएका छन्। रासस