
मनिलाः फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि आक्रमण भएको छ।
आक्रमणमा उनका चार अङ्गरक्षक गम्भीर रुपमा घाइते भएका छन् । उनलाई नै लक्षित गरी सो आक्रमण भएको हो।
तर सवारीमा सुरक्षाको लावालस्करको निकै पछि उनी भएकाले ठूलो दुर्घटना टरेको समाचारमा जनाइएको छ। राष्ट्रपति डुटेर्ते पनि सोही सवारीमा रहेको अनुमान गरी गोली चलाइएको थियो।
गोली लागेर उनको सवारीको सुरक्षाका लािग खटिएका सुरक्षाकर्मी घाइते भएका बताइएको छ। फिलिपिन्सका संदिग्ध कम्युनिष्ट विद्रोहीले आक्रमण गरेको गृह मन्त्रालयले जानकारी दिएको छ।
फिलिपिन्सको दक्षिणी मिन्डानाओ टापू नजिकको राजमार्गमा उनको सवारीका लागि ठूलो सङ्ख्याका सवारी खटाइएको थियो।
तर हमलाकारीले भने राष्ट्रपति रहेको अनुमान गरी ती सवारीमध्येको एक सवारी साधनमा हमला गरेका थिए । गोली लागेर चार जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन्।
फिलिपिन्समा विगत लामो समयदेखि सशस्त्र हिंसा मच्चाइरहेको कम्युनिष्ट विद्रोही समूहले हालैमात्र सरकारले सुरु गरेको सैनिक शासनको विरोध गरिरहेका थिए।
सोही विरोधस्वरुप यो हमला गरिएको अनुमान फिलिपिन्सको सैनिकले गरेको छ। एकजना सैनिक जर्नेलले उक्त हमला कम्युनिष्ट बिद्रोहीले नै गरेको र सैनिक शासनको विरोधस्वरुप यो हमला गरिएको बताएका छन्। रासस/एएफपी