PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

कहिले सक्रिय हुन्छ मनसुन ?



सागर बुढाथोकी

कहिले सक्रिय हुन्छ मनसुन ?

काठमाडौं : गत साता मनसुन सक्रिय भएको नेपालमा यतिबेला खण्डबृष्टि मात्र भएको छ। मध्य वर्षाको समय भएपनि देशभर अहिले वर्षा हुन सकेको छैन।

गतसाता केही वर्षा भएपनि अहिले रोकिएको छ। जसका कारण गर्मी बढेको महसुस हुन थालेको छ। यो वर्ष मनसुन सुरु भएको डेढ महिना बित्दापनि सक्रिय मनसुन सुरु हुन नसकेको मौसमविद् सुदन सुवेदी बताउँछन्।

किन बढ्यो त गर्मी ?
मनसुन सक्रिय नभएपछि उपत्यकासँगै देशका अधिकांश भागमा गर्मी बढेको छ। महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्जलगायतका क्षेत्रमा तापक्रम वृद्धि भएको छ।

मौसमविद् सुवेदीले भने, ‘अघिल्लो साता २६ डिग्री सेल्सियसमा झरेको अधिकतम तापक्रम वर्षा रोकिएसँगै ३१ डिग्री सेल्सियस पुगेको छ। तापक्रम बढ्नु मनसुन निष्क्रिय भएर हो।’ 

कहिले मनसुन सक्रिय हुन्छ ?
मौसमविद् सुवेदीका अनुसार बंगालको खाडीबाट न्यूनचापीय रेखा दक्षिणतर्फ सरेकाले केहीदिनदेखि वर्षा हुन नसकेको हो। यो साताभर मनसुन सक्रिय हुँदैन। 

‘यो साता छिटफुट वर्षा भएपनि ठुलो पानी पर्ने सम्भावना धेरै कम छ। गर्मी अझै बढ्न सक्छ।’ सुवेदीले भने, ‘न्यूनचापीय रेखा नेपालतर्फ सर्न केही समय लाग्ने भएकाले तत्काल पानी पर्ने सम्भावना नदेखिएको हो।  अहिले न्यूनचापीय रेखा भारतीय भुभागमा सरेकाले त्यता धेरै वर्षा भएको छ।  अर्को सातादेखि यता पुनःमनसुन सक्रिय हुन्छ।’

महाशाखाले यो वर्ष मनसुनको पहिलो महिना अर्थात् जुन महिनामा औसतमा वर्षा भएको जनाएको छ। मौसमविद् सुवेदीले सुरुका केही दिनमा मनसुन निष्क्रिय भएपनि सक्रिय भएपछि जुन महिनामा औसतमा वर्षा भएको जानकारी दिए।

उनले भने ‘जुन महिनाको तुलनामा जुलाईमा जति वर्षा हुनुपर्ने हो त्यति हुन सकेको छैन।’

सुवेदीका अनुसार मनसुनका ४ महिनामा कहिले मौसम सक्रिय र कहिले निष्क्रिय हुने गर्छ। त्यसैले अहिले पर्नेजति पानी नपरेपनि केही दिनपछि नियमित पानी पर्छ।

सुवेदीले भने, ‘ गतवर्ष यतिबेला नियमित वर्षा भएको थियो। पछि चाँडै रोकिएको थियो। यो वर्ष पानी पछिसम्म पर्ने सम्भावना देखिन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell