पोखरा : लगाएको खेतीबाली खाइदिएर बाँदरले कृषकलाई सास्ती दिँदै आएका त थिए नै, कृषिकै अनुसन्धान गर्दै आएको लुम्लेस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र पनि यो समस्याबाट अछुतो बन्न सकेको छैन।
विभिन्न बालीको अध्ययन तथा अनुसन्धान गर्दै आएको यो केन्द्रलाई अहिले अनुसन्धानका लागि लगाइएका बाली कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ।
केन्द्रका प्रमुख तुलबहादुर पुनका अनुसार अनुसन्धानका लागि लगाइने बालीको बीउ पनि खोस्रिएर खाइदिने भएपछि बीउ लगाउँदादेखि नभित्र्याउँदासम्म बाँदरबाट जोगाउनुपर्ने अवस्था सिर्जना भएको छ।
केही समययता लुम्लेमा नयाँ प्रजातिको बाँदर देखिएको जानकारी दिँदै उनले धपाउँदा पनि अटेर गर्ने भएकाले बाली जोगाउन मुस्किल पर्ने गरेको गुनासो गरे।
लुम्ले आसपासका क्षेत्रमा ठूलो संख्यामा बाँदर रहेका छन्। उनले बाँदर हुल बाँधेर केन्द्रमा अनुसन्धानका लागि लगाइएका बालीमा पस्ने गरेको बताए। अनुसन्धान समेत प्रभावित पारेका यहाँका बाँदरले जिल्लाका सबैजसो ठाउँका कृषकलाई दुःख दिँदैआएका छन्।
बाँदर आतंक समाधान गर्नुपर्ने सर्वसाधारणको माग बढेर गएपछि कास्कीको रुपा गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा यसको व्यवस्थापनका लागि १० लाख विनियोजन गरेको विषय यतिखेर सर्वत्र चासो र चर्चाको विषय बनेको छ।
बाँदरबाट खेतीबाली जोगाउन नसकिएको भन्दै स्थानीयवासीबाट गुनासो आएपछि गाउँपालिकाले बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए।
बाँदरले सताएपछि कृषकहरू सम्बन्धित जिल्ला कृषि कार्यालय तथा वन कार्यालयमा नियन्त्रणको मागसहित पुग्ने गरेका छन्।
वन्यजन्तु संरक्षण ऐनले आसामे रातो बाँदरलाई संरक्षित जनावरमा राखेको जिल्ला वन कार्यालय कास्कीका प्रमुख केदार बरालले बताए।रासस