
रत्ननगर: पूर्वी चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।
चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–२ स्थित पदमपुरका ५० वर्षीय भुमिनन्द दुलालको बुधबार यसरी हत्या भएको हो।
घटनाको प्रारम्भिक अनुसन्धानमा उनका छोरीहरु अञ्जना दुलाल, बेलकुमारी दुलाल, अप्सरा दुलाल र ज्वाई टेकबहादुर बुढासहितका व्यक्तिको संलग्नता देखिएको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको थापाको भनाइ छ।
उनको आफ्नै घरभित्र धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो। मृतक दुलालको टाउकोलगायत शरीरका विभिन्न अंगमा धारिलो हतियार प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ।
उनीहरुले घटना दिउँसो गराए पनि प्रहरीले भने साँझ ५ बजेमात्रै थाहा पाएको थियो। शव सेतो कपडाले छोपी राखेको अवस्थामा फेला पारिएको थियो।
उनीहरुले विगतमा पनि मदिरा पिएर झगडा गर्दै आएको पाइएको र अहिले पनि पारिवारिक झगडाका कारण घटना भएको स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले जानकारी दिए। अंशसम्बधीको विवादमा घटना भएको प्रहरीले जनाएको छ।
मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। रासस