
काठमाडौँ: उपत्यकामा सडकका खाल्डाखुल्डीका कारण दिनदिनै घटना भइरहेका छन्। गत शुक्रबार तारकेश्वरमा ढलमा डुवेर एक बालिकाको निधन भएको छ। दिनदिनै कुनै न कुनै प्रकृतिका घटना सडकको दूरावस्थाका कारण भइरहेका छन्।
यसैक्रममा मेलम्ची खानेपानी आयोजनाले खनेको खाल्डोमा महाराजगन्जको निर्मल निवास अगाडि कार खसेको छ। बा ४ च २४५१ नम्बरको कार बिहान ४ बजेको समयमा खाल्डोमा परेको हो। कारको अगाडिको केही भागमा क्षति पुगेको छ। चालक भने सकुशल रहेका छन्।
बिहानै खाल्डोबाट कार निकालिएको छ।
तस्बिर : किशोर शर्माको ट्विटरबाट
उपत्यकाका खाल्डाखुल्डीका कारण दुर्घटना र मानवीय क्षति समेत भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र खाल्डाखुल्डी पुर्न निर्देशन समेत दिएका छन्। प्रधानमन्त्रीको निर्देशन अनुसार भौतिक पूर्वाधार, स्थानीय विकास र खानेपानी मन्त्रालयका सचिवलाई उक्त कामको समन्वय गर्न तोकिएको छ। वर्षातको समयमा खाल्डाखुल्डीमा पानी जमेका कारण बाटो नदेखिँदा सवारी दुर्घटना पनि बढेको छ।