
पुणेँ : भारतका स्वतन्त्र सेनानी भिकु दाजी भिलारीको ९८ वर्षको उमेरमा निधन भएको छ। भिलारी गुरुजीका नाममा परिचित उनले सन् १९४४ मा महात्मा गान्धीलाई नाथुराम गोट्सेबाट बचाउन सफल भएका थिए।
धेरै पुस्तकका लेखकहरुले महात्मा गान्धीमाथि हत्या प्रयासबारे उनीसँग अन्तर्वार्ता गरेका छन्। उनले अन्तर्वार्ताका क्रममा भनेका छन् – 'गान्धीको प्रार्थना सभा पञ्चाग्नीमा जो कसैलाई पनि सहभागी हुन रोक थिएन। त्यो दिन उषा मेहता, प्यारेलाल, अरुणा असिफ अली र अरु सहभागी थिए। गोड्से हतारिएर गान्धीतिर हान्निएका थिए, उनको हातमा छुरा थियो। मेरो प्रश्न छ भन्दै गान्धीतिर हुत्तिँदा मैले उनलाई छुरासहित समातेँ। तर, गान्धीले उनलाई त्यसै जान दिनुभयो।'
पछि तिनै गोड्सेले गान्धीको हत्या गरे।
गान्धीका नाती तुसार गान्धीले राखेको रेकर्ड अनुसार भिलारी र व्यवसायी मणिशंकर पुरोहितले गोड्सेबाट गान्धीलाई बचाएका थिए।
कपुर कमिसनले घटना सन् १९४४ को जुलाइमा भएको भनिए पनि पुष्टि गर्न नसकिएको जनाएको थियो।
त्यसो त कमिसन गठन हुनुअघि नै पुरोहितको निधन भएको थियो। उनले घटना सन् १९४७ जुलाइमा भएको बताएका थिए। भिलारीको प्रसंग अनुसन्धानका क्रममा कतै उल्लेख भएको थिएन। यद्यपि कमिसनले सन् १९४४ को पञ्चाग्नीमा एउटा समूहले अवरोध गरेको उल्लेख गरेको छ। पछि धेरै लेखकले गान्धीमाथि आक्रमण भएको विषयमा खुलासा गरेका छन्।
सन् १९१९ नोभेम्बर २६ मा जन्मिएका भिलारी समानान्तर सरकार अभियानमा सक्रिय थिए। नाना पाटिलको नेतृत्वमा उनी यसमा सक्रिय रहेका थिए।
बेलायतबाट स्वतन्त्र भएपछि भिलारी जवालीबाट १८ वर्षसम्म सांसदसमेत रहे। बुधबार भिलारीको दाह संस्कार गरिएको छ।