काठमाडौः केन्द्रीय कारागार सुन्धारामा बन्दी जीवन बिताइरहेकी सुस्मिता भन्ने उर्मिला श्रेष्ठको असार २९ गते बेलुका निधन भयो।
मानव बेचविखनमा मुद्दामा दोषी ठहरी कैद सजाय भुक्तान गरिरहेकी श्रेष्ठको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको हो।
आर्थिक वर्ष २०७३/७४ मा कैदीको मृत्यु हुनेमा उनी अन्तिम नम्बरमा परिन्। उनीभन्दा एक साता अगाडि सरकारी छाप किर्तेमा कैद भएका चारुचन्द्र मिश्रको पनि उपचारको क्रममा नै विराटनगर अस्पतालमा मृत्यु भएको थियो।
गत वर्ष कारागारमा रहेका कैदीमध्ये ५० जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा २ जना महिला र ४८ जना पुरुष कैदीबन्दीहरु रहेका छन्।
गएका चालु आर्थिक वर्षमा भन्दा यो पटक झन्डै दोव्बरले कैदीबन्दीको मृत्यु भएको हो।
कारागार व्यवस्थापन विभागका निर्देशक गणेश भट्टराई मृत्यु हुनेको सङख्या बढेको बताउँछन्। मृत्यु हुनेहरुमा सुनसरीको झुम्का कारागार र सुन्धाराको केन्द्रीय कारागाराका कैदीको सङ्ख्या बढी रहेको छ।
वर्षेनी कैदीबन्दीको मृत्युको सङख्या बढ्नुमा दीर्घरोगी र डिप्रेसन मुख्य कारण रहेको भट्टराई बताउँछन्। उनी भन्छन्, 'कैद सजाय पाएदेखि कैदीमा डिप्रेसन बढ्छ। अनि बिरामी परेर थलिन्छन् र कतिको मृत्यु पनि हुन्छ।
कैद सजाय भुक्तानको क्रममा नै बाँके कारागारमा रहेका अरविन्द कुमार वर्माले कारागारभित्र नै प्लाष्टिकको डोरीमा झुन्डिएर आत्महत्या गरे।
मृत्यु हुने मध्ये ४५ जना उपचारको क्रममा अस्पतालमा नै मृत्यु भएको हो।
६९ वर्षीय नरबहादुर रोक्काको उपचारको क्रममा अस्पताल लैजाँदा बाटोमा नै मृत्यु भयो। चितवन कारागारका कैदी भारे सरदार, वीरवहादुर थिङ र इलाम कारागारका कैदी राजकुमार खातीको कारागारमा सुतिरहेको अवस्थामा नै मृत्यु भएको थियो।
कारागारमा पछिल्लो समय वृद्ध कैदी बढ्दै गएकाले पनि मृत्युको सङख्या थपिँदो रहेको छ।
कारागारमा रहेका करिब १८ हजार ५ सय कैदी मध्ये सबैभन्दा बढी उमेरका कैदी चेतनबहादुर देवान हुन्। उनी इलाममा जबर्जस्ती करणीको कसुरमा सजाय भोगिरहेका छन्।
कारागारमा जन्मिए ३ शिशु
कैद भुक्तानको क्रममा कैदीको मृत्यु मात्र होइन, कारागारमा बच्चासमेत जन्मने गरेको छ। १८ हजार कैदीमध्ये करिब १३ सय महिला कैदी रहेका छन्।गएको वर्ष तीन जना कैदी महिलाले बच्चा जन्माएका छन्। चितवन, भोजपुर र तेह्रथुम कारागारमा कैद भुक्तान गरिरहेका महिलाले बच्चा जन्माएका हुन्।
भोजपुर र तेह्रथुमका महिलालाई बच्चा जन्माउनु एक महिना अगाडि परिवारले घर लगेका थिए।
चितवनकी कैदीबन्दी महिलाले भने कारागारमा नै बच्चा जन्माएका हुन्। बच्चा जन्मिने केही महिना अगाडि परिवारको रोहवरमा घर लैजाने व्यवस्था छ।
तीन जना महिला अहिले बच्चा जन्माएर बच्चासहित कारागार फर्किसकेका छन्।
सम्बन्धित समाचार