PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

अफगानिस्तानसँग नेपालको लज्जापद हार, एक खेलाडीले जोडे दोहरो रन, ४९ रनमै अलआउट



पहिलोपोस्ट

अफगानिस्तानसँग नेपालको लज्जापद हार, एक खेलाडीले जोडे दोहरो रन, ४९ रनमै अलआउट

काठमाडौं : ब्याटिङमा पुरानै समस्या, नियमित रुपमा विकेट पतन र टिकेर खेल्न नसक्दा नेपालले यू-१९ विश्वकप छनोटमा अफगानिस्तानसँग लज्जासपद हार बेहोरेको छ।

बिहिबार सिंगापुरमा भएको खेलमा नेपाल अफगानिस्तानसँग  १४१ रन अन्तरले पराजित भयो। १ सय ९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा ४९ रनमै अलआउट भयो।

टस जितेर अफगानिस्तानलाई पहिले फिल्डिङको निम्तो दिएको नेपालले २ बल अगावै विपक्षीलाई १९० रनमा अलआउट गरेको थियो। अघिल्लो दुई खेलको प्रदर्शनलाई निरन्तरता दिदै बलरहरुले अफगानिस्तानलाई दबाबमा राखेको थियो। तर त्यही प्रदर्शन ब्याटिङमा भने देखाउन नसक्दा नेपालले फराकिलो हार बेहोर्‍यो।

नेपालका लागि आठौं नम्वरमा ब्याटिङ गरेका पवन सराफले मात्र दोहोरो अंकमा रन बनाए। पवनले ५२ बल खेल्दै ३ चौकाको मद्दतमा २६ रन बनाए।  बलिङमा समेत उनले २ विकेट लिएका थिए। कप्तान सन्दीपसहित नेपालका चार खेलाडीले खाता समेत खोल्न सकेनन्।

फराकिलो हारपछि नेपालको विश्वकपमा छनोट हुने सम्भावना कठिन बनेको छ। अर्को वर्ष न्यूजिल्याण्डमा हुने युवा विश्वकपमा स्थान बनाउन नेपालले अब दोस्रो राउण्डको सबै तीन खेल उत्कृष्ट रनरेटले जित्नुपर्नेछ।

पाँच ओभरसम्म नेपालले कुनै विकेट गुमाएको थिएन। तर छैटौँ ओभरको अन्तिम बलमा ओपनर आसिफ शेख (६) नेपालको स्कोर ९ हुँदा आउट भएपछि नेपालको विकेट पतन सुरु भयो। उनलाई मुजिवले आउट गरे।

आठौँ ओभरको पहिलो बलमा अर्का ओपनर सन्दीप सुनार (१) पनि मुजिवको शिकार बने।

त्यसपछि कप्तान नाभिन उल हकले नवौ ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिँदै ह्याट्रिक गरे। उनले नेपालका दीपेन्द्र सिंह ऐरी (४), प्रनित थापा मगर (०) र अनिल कुमार शाह (०) लाई आउट गरे। ११ बलमा ४ रन बनाएका आदिल खानलाई पनि नाभिनले नै आउट गरे।

रोहित कुमार पौडेल (०) लाई जाहिर खानले आउट गरे भने कप्तान सन्दीप (०) लाई मुजिवले आउट गरे। त्यसपछि जुमिवले नै १ रन बनाएका शहाब आलमलाई आउट गरे।

नेपाललाई ५० रन भन्दा कम स्कोरमा अलआउट गर्न अफगानिस्तानका कप्तान नाभिन र मुजिवले ४/४ विकेट लिए।

पदाङस्थित सिंगापुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.४ ओभरमा सबै विकेट गुमाउदै १ सय ९० रन बनाएको थियो।

अफगानिस्तानका लागि इब्राहिम जर्दानले सर्वाधिक ४३ तथा नभिद ओवइदले ३३ रन बनाए। यस्तै तरिक स्टानिजकाइले २७ रन जोडे भने कप्तान नाभिन उल हकले २० रन बनाए।

नेपालका लागि शहाब आलमले सर्वाधिक ३ विकेट लिए। यस्तै पवन सराफ र कप्तान सन्दीपल लामिछाने २-२ विकेट झारे। दीपेन्द्र सिंह ऐरी र किशोर महतोले १/१ विकेट लिए।

१० ओभर बलिङ गरेका शहाबले ३६ रन खर्चेर ३ विकेट लिए। कप्तान सन्दीपले ९.४ ओभर बलिङ गर्दै २ मेडनओभरसहित ३० रन खर्चेर २ विकेट लिएका हुन्।

यस्तै ७ ओभर बलिङ गरेका पवनले २ मेडन राख्दै १९ रन खर्चेर २ विकेट लिएका हुन्।

सन्दीपले अन्तिम ओभरको दोस्रो बलमा अफगानि कप्तान र चौथो बलमा जाहिर खानको विकेट लिए।

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell