
काठमाडौं: हास्य कलाकार कुमार कट्टेल 'जिग्री' र अर्जुन घिमिरे 'पाँडे'ले सप्तरीस्थित पट्टी परवाहका तीन दृष्टिविहीन परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेका छन्। पाँडेको जन्मदिनको अवसर पारेर बुधबार शिवनारायण मण्डल, शम्भु मण्डल र लक्ष्मण मण्डलको परिवारलाई घर हस्तान्तरण गरिएको हो।
२२ जना दृष्टिविहीन रहेको मण्डल परिवारमा काम गरेर परिवार पाल्न सक्ने दुई जनामात्रै छन्। जिग्रीले दिएको जानकारी अनुसार ३१ लाख ७० हजार लागतमा शौचालयसहितको तीन कोठाको घर निर्माण गरिएको हो। डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ मा पर्ने गाउँमा विद्युत समेत पुगेको थिएन। कलाकारहरुकै सहयोगमा हाल विद्युत पुगेको उनले बताए।
बुधबार घर हस्तान्तरण कार्यक्रममा हास्य कलाकार सीताराम कट्टेलको समेत उपस्थिति रहेको थियो। कुमार कट्टेल र सिताराम कट्टेल दाजुभाइ हुन्। जिग्री पाँडे प्रतिष्ठान स्थापना गरी हास्य टेलिशृंखला भद्रगोलका कलाकारले संयुक्त रुपमा घर बनाएका हुन्।
घर हस्तान्तरण गर्दै कुमारले भने,'मधेसमा यस्ता थुप्रै ठाउँ बस्ती छन्, जहाँ कोही पुगेको छैन र हामी पुग्न आवश्यक छ।'