PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

युथ तथा जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिप भोलीदेखि, सम्पूर्ण तयारी पूरा



पहिलोपोस्ट

युथ तथा जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिप भोलीदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं : नेपाली खेलकुदको इतिहासमै आधिकारिक रुपमा हालसम्मकै सर्वाधिक ठूलो प्रतियोगिता युथ तथा जुनियर एसियन महिला तथा पुरुष भारोत्तोलन च्याम्पियनसिप भोली शुक्रबारदेखि सुरु हुँदैछ।

१९औं युथ एसियन, २४औं जुनियर महिला र ३१औं जुनियर पुरुष एसियन भारोत्तोलन प्रतियोगिता यही साउन ६ देखि १४ गतेसम्म काठमाडौंमा हुन लागेको हो।

बिहिबार नेपाल भारोत्तोलन संघले पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपका लागि सम्पूर्ण तयारी पूरा भएको र पहिलो पटक नेपालमा ठूलो प्रतियोगिता गर्न पाउँदा उत्साहित भएको बताएको छ।

'यो जुनियर प्रतियोगिता ट्रायलको रुपमा हामी गर्दैछौँ। यदी हामीले यसमा राम्रो गर्न सक्यौँ भने इन्टरनेशनल वेइटलिफ्टिङ फेडेरेसनले सन् २०१९ मा हुने विश्व जुनियर च्याम्पियन नेपालमा आयोजना गर्ने आश्वासन दिएको छ।' नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन कुमार टण्डनले बताए।

संघकै उपाध्यक्ष सुरेन्द्र हमालले धेरै लामो समयपछि नेपालले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगता गर्ने अवसर पाएको बताए। सन् २०१५ मै नेपालले एसियन स्तरको प्रतियोगिता गर्ने अवसर पाएपनि भुकम्पका कारण उक्त अवसर गुमेको थियो।

हमालका अनुसार नेपालले सन् २००२ मा जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिप गरेको र त्यसमा धनगढीका श्याम हमालले कास्य पदक जितेका थिए।

उक्त अवसरमा इन्टरनेशनल वेइटलिफ्टिङ फेडेरेसन आइडब्लुएफका अध्यक्ष तथा आइओसीका अनरी मेम्बर तोमस हजान तथा आइडब्लुएफकै महासचिव तथा एसियन वेषइटलिफ्टिङ फेडेरेसनका समेत महासचिव रहेका मोहम्मेद हसन जलुदको उपस्थित थियो।

उनीहरुले नेपालमा हुन लागेको च्याम्पियनसिपबाट आपूहरु उत्साहित रहेको बताए। दुवै जनाले नेपालले यसअघि गर्दै आएका कारण यसपटक अन्य दुई महादेशका प्रतियोगिता छाडेर नेपाल आएको प्रतिक्रिया दिए।

 

३४ राष्ट्रका खेलाडीको सहभागिता

लगनखेलस्थित नेपाली सेनाको शारिरिक प्रशिक्षण तथा तालिम केन्द्रमा ९ दिनसम्म सञ्चालन हुने च्याम्पियनसिपमा एसियाका ३४ राष्ट्रका खेलाडीहरुको सहभागिता हुनेछ। जसमा पुरुषतर्फ युथमा ९४ र जुनियरमा १०३ गरी कूल १९७ खेलाडीले सहभागिता जनाउनेछन् भने महिलातर्फ ५२ युथ तथा ५८ जुनियर गरी ११० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। कूल ३ सय ७ खेलाडीले विधिन्न ३२ वटा तौसमूहमा प्रतिस्पर्धा गर्नेछन्।

च्याम्पियनसिपमा पुरुष युथ तर्फ ५० केजी, ५६ केजी, ६२ केजी, ६९ केजी, ७७ केजी, ८५ केजी, ९४ केजी र ९४ प्लस तौल समूह तथा पुरुष जुनियरतर्फ ५६ केजी, ६२ केजी, ६९ केजी, ७७ केजी, ८५ केजी, ९४ केजी, १०५ केजी र १०५ प्लस तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

यस्तै महिला युथतर्फ ४४ केजी, ४८ केजी, ५३ केजी, ५८ केजी, ६३ केजी, ६९ केजी, ७५ केजी र ७५ प्लस तौल समूहमा तथा मिहला जुनियरतर्फ ४८ केजी, ५३ केजी, ५८ केजी, ६३ केजी, ६९ केजी, ७५ केजी, ९० केजी र ९० प्लस केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

१३ देखि १७ वर्ष सम्मकाले युथ तथा १५ देखि २० वर्षसम्मकाले जुनियरमा प्रतिस्पर्धा गर्न पाउनेछन्। यस्तै १५ वर्ष पूरा भएकाले दुवै क्याटेगोरीमा खेल्न पाउनेछन्।

नेपालबाट ४ महिला र ९ पुरुष गरी कूल १३ खेलाडीले भाग लिने प्रशिक्षक सञ्जय महर्जनले जानकारी दिए। यसत् प्रशिक्षक तर्फ नेपालबाट जगदिश प्रधान, सञ्जय महर्जन र सकिल अहमद छन् भने टिम म्यानेजरमा दिनेश भुजेल छन्।

 

सम्पूर्ण तयारी पूरा

नेपाल भारोत्तलन संघका अध्यक्ष रतन कुमार टण्डनले च्याम्पियनसिपका लागि सम्पूर्ण तयारी पूरा भएको बताए। 'खेलाडी र अफिलहरुको स्वागतदेखि खेलस्थल सम्म सबै तयारी पूरा गरिसकेका छौँ।'

यस्तै नेपाली खेलाडीहरुले पनि च्याम्पियनसिपका लागि गत फागनुदेखि निरन्तर तयारी गरिरहेको प्रशिक्षक सञ्जय महर्जनले बताए। महर्जनका अनुसार यसपटक पदक जित्न भन्दा पनि राक्ष्ट्रिय रेकर्डमा सुधार गर्ने अपेक्षा रहेको छ। उनले यसअघि नेपाल नवौँ/दशौँ स्थानमा रहने भएपनि यसपटक घरेलु भूमिमै हुने प्रतियोगितामा त्यसलाई सुधार गर्दै शीर्ष ६ भित्र पर्ने प्रयास गर्ने बताए।

यस्तै च्याम्पियनसिपका लागि १ करोड ७६ लाख खर्च हुने नेपाल भारोत्तलन संघका कोषाध्यक्ष इश्वरमान श्रेष्ठले जानकारी दिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell