PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

माओवादी एकताको अलाप : भ्यागुताको धार्नी



सूर्य खड्का

माओवादी एकताको अलाप : भ्यागुताको धार्नी

हतारमा फुटेर क्रान्तिकारी रोमान्समा रम्नु र फुर्सदमा जुट्न भगिरथ प्रयत्न गर्नु नेपाली वामपन्थीहरुको अघोषित परम्परा हो। पछिल्लो समय यो प्रवृत्तिको पर्याय भएको छ नेपालको माओवादी। जनयुद्धका दशकमा एकढिक्का भएर देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको चरणसम्म पुर्याउन बलिदानीपूर्ण नेतृत्व गरेका माओवादीहरु अहिले चिराचिरामा चिरिएका छन्। प्रचण्ड, मोहन वैद्य किरण, नेत्र बिक्रम चन्द विप्लव र डा. बाबुराम भट्टराई जनयुद्धकालीन एकढिक्के माओवादीका टुक्रे प्रतिविम्व हुन् जसले माओवादी आन्दोलनलाई विभाजनको पर्याय बनाए।

स्थानीय तहको चुनावमा जनताबाट हैसियतको परीक्षण भएपछि सबै फुटेका माओवादी घटक आ-आफ्ना गुटरुपी कुवाबाट एकताको ट्वार ट्वार… निकाल्न थालेका छन्। मोहन वैद्य नेतृत्वको माओवादीले विज्ञप्ति निकालेर क्रान्तिकारीबीच एकताको आव्हान गर्‍यो भने लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैद्य, बाबुराम र विप्लवसँग एकताका लागि आव्हान पनि भ्याए। उता राजनीतिक र सैद्धान्तिक रुपमा नै वामपन्थबाट अलग भएका डा. बाबुराम भट्टराईको एकता उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग लगभग तय भएको छ।
धरातलीय यथार्थ के हो भने, फुटेर राज गर्ने र दम्भ देखाउने अनि जनताबाट दण्डित भएपछि पुनः एकताको राग अलाप्ने माओवादी घटकका नेताहरुको एकता भ्यागुताको धार्नी पुर्याओउनुभन्दा फरक हुने देखिन्न। 
 

तेस्रोमा टाक्सिएपछि प्रचण्डको खुलेको चेत

दुई चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा ८४ स्थानमा सीमित हुँदै कांग्रेस एमाले जस्ता ठूला दलको तुलनामा धेरै पुछारको तेस्रो स्थानमा टाक्सिन पुगेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चाहिएको छ - क्रान्तिकारी एकता। 

‘साथीहरु माओवादी आन्दोलनबाट विभाजित भएर जानुभयो। तर, फुटको औचित्य पुष्टि गर्न सक्नुभएको छैन। जनताले वैद्य, विप्लव, बाबुरामको नेतृत्वमा रहेका सबैलाई तिमीहरुसँग एकताको विकल्पै छैन भन्ने सन्देश दिएर पठाएका छन्, अब सबै माओवादी एक हुनुको विकल्प छैन।’ 

ललितपुरको थसिखेलमा कार्यकर्ता प्रशिक्षणमा बुधवार बोल्दै अध्यक्ष प्रचण्डले क्रान्तिकारीहरुको एकता अनिवार्य भएकोमा जोड दिँदै पार्टीको जारी सचिवालय बैठकबाट क्रान्तिकारी माओवादीहरुको एकताका लागि विशेष प्रस्ताव पारित गरेर एकताका लागि अपील गर्ने बताए। 

देश माओवादीकै एजेण्डामा चलिरहेका बेला माओवादीले चुनाव हार्नु स्वभाविक नुहुने भन्दै हारको कारण पार्टीको अस्वभाविक विभाजन रहेको प्रचण्ड स्वीकारोक्ति हो। निर्वाचनमा पराजयको दोष जनतालाई दिएर आफूहरुले सुख नपाउने तथ्य पनि आत्मासाथ गरेका प्रचण्डले यसअघि पार्टी बैठकमा गुटमा रमाउने नेताहरुलाई चुनौती दिँदै जनतासँग नजोडिने भए पार्टी विघटन नै गरे बेस् हुने चेतावनी दिएका थिए। 

जनतामा पार्टीले सरकारमा हुँदा गरेका राम्रा कामबारे बुझाउन नसकेको र संगठनात्मक रुपमा माओवादी ध्वस्त भएको चुनावी परिणामले देखाएको प्रचण्ड स्वीकारोक्तिको जगमा पुनः शक्तिशाली दलको नेता हुन प्रचण्डलाई एकता चाहिएको स्पष्टै बुझिन्छ। ‘संगठनबिना चुनाव पनि जितिन्न, आर्थिक समृद्धिको नेतृत्व गर्न पनि सकिँदैन र राजनीतिक संघर्षको नेतृत्व पनि गर्न सकिन्न,’ उनले भनेका छन्,  ’त्यसैले संगठन, संगठन र फेरि पनि संगठनको नारासहित जनतामा जानुको कुनै विकल्प छैन।’

चुनावी परिणाम वैद्यलाई बुटी 

तत्कालीन एकीकृत माओवादीबाट फुटेर बनेको मोहन वैद्य नेतृत्वको माओवादीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले पनि क्रान्तिकारीहरुको एकतामा जोड दियो। पहिलो संविधानसभामा एकीकृत माओवादीमा नै ठूलो दलका रुपमा रहँदा संविधान बनाउन नसकेको र दोस्रो संविधानसभा चुनावमा तत्कालीन एकीकृत माओवादीबाट फुटेर चुनाव बहिष्कार गरेको वैद्य माओवादीले पछिल्लो स्थानीय चुनावमा भाग लियो। 

चुनावमा देशभरबाट बढारियो पनि। संरक्षित, विशेष तथा स्वायत्त क्षेत्र नबनाई एकात्मकतावादी मान्यता अनुसार चुनाव भएको र नयाँ दल दर्ता र चुनाव चिन्ह नदिएर तीन दलले अधिनायकवाद लागू गरेको भन्दै वैद्य माओवादीको बैठकले भनेको छ, ‘यस्तो परिस्थितिमा निर्वाचन परिणाम बढी आउने अपेक्षा गरिएको थिएन र व्यवहारमा पनि त्यही नै भयो।’ 

कता कता पुनः बन्दुक युद्धमा फर्कने घुर्की लगाउने वैद्य माओवादीले जनताबाट पाएको शून्य सिटको चुनावी परिणामलाई पनि स्वीकार गरेको यो तथ्यले उ पनि ढिलो चाँडो चुनावी मार्गमा हिडन तयार हुँदै आएको सुखद् संकेत पनि गर्छ। 

वैद्य माओवादीले पार्टी एकीकरण तथा ध्रुविकरणका लागि सम्बन्धित क्रान्तिकारी कम्युनिष्ट पक्ष तथा समूहहरुलाई आह्वान गरेको छ। दश वर्षे जनयुद्ध तथा विभिन्न जन आन्दोलनहरुले गम्भीर धक्का खाएको, राष्ट्रियता, जनतन्त्र तथा जनजीवीकाका समस्या झनै गम्भीर बन्दै गएको र दक्षिणपन्थी संशोधनवाद अत्यन्तै प्रभावी रहेको भन्दै अहिलेको स्थितिमा एकतावद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्य वैद्य माओवादीले लिएको छ।

वैद्य माओवादीले जारी गरेको पछिल्लो विज्ञप्तिमा एकताको अपरिहार्यता देखाउँदै भनिएको छ, ‘मार्क्सवाद, लेनिनवाद र माओवाद अवलम्बन गर्ने, नयाँ जनवादी क्रान्तिको कार्यदिशा स्वीकार गर्ने, क्रान्तिमा बल प्रयोगको सिद्धान्तलाई मान्ने, वर्तमान पश्चगामी संविधानलाई अस्वीकार गर्ने, वर्तमान सत्ता तथा व्यवस्थाको मन्त्रिपरिषदमा नरहने र जनवादी केन्द्रीयताको सिद्धान्तलाई स्वीकार गर्ने सैद्धान्तिक, राजनीतिक तथा सांगठनिक मान्यताका आधारमा पार्टी एकीकरण तथा ध्रुवीकरणका लागि सम्बन्धित क्रान्तिकारी कम्युनिष्ट पक्ष तथा समूहहरुलाई आह्वान गर्ने निर्णय लिइएको छ।’

यही विज्ञप्तिका शब्दावलीहरुकै आधारमा प्रचण्ड माओवादी र वैद्य माओवादी बीच तत्कालै पार्टी एकता भैहाल्ने निष्कर्ष भने निकाल्न सकिदैन। किन भने प्रचण्ड यो व्यवस्थाका रक्षकका रुपमा उदाएका छन् भने वैद्य त्यसका विपक्षमा। तर उसले एकताको ढोका खोलेर पुनः प्रचण्डसँगै पनि पार्टी एकता हुनसक्ने व्यवहारिक बाटो भने तय गरेको छ। 

बाबुरामको गैर माओवादी एकता

जनयुद्धकालीन माओवादीका प्रचण्डपछिका सर्वशक्तिमान नेता डा. बाबुराम समेतलाई एकताको आव्हान गर्ने प्रचण्डको पछिल्लो अभिव्यक्तिका बाबजुत डा. बाबुराम भट्टराईले भने आफू नेतृत्वको दल नयाँ शक्तिको एकता गैर माओवादीमा छलाङ मारिसकेका छन्। असोज २ को तेस्रो चरणको स्थानीय तह चुनाव अगावै नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच पार्टी एकताको पहल आखिरी चरणमा पुगेको बताइएको छ। 

नयाँ शक्ति र संघीय समाजवादी फोरमले ३१ वैशाखको पहिलो र १४ असारको दोस्रो चरणको स्थानीय चुनावमा पनि तालमेल गरेका थिए। तर संघीय समाजवादीले दोस्रो चरणमा ८ स्थानीय तहमा जितेर पार्टीको हैसियत जोगाएको थियो भने नयाँ शक्तिले केही वडा बाहेक उल्लेख्य जीत हासिल गरेको थिएन।

डा. बाबुराम भट्टराईले यसकारण गैर कम्युनिष्ट एकतामा हात बढाएका छन् कि उनले वामपन्थ राजनीतिक बाटो नै त्यागिसकेका छन्। यसकारण उनले प्रचण्ड वा वैद्यले भने जस्तो वामपन्थीहरुको एकतामा कुनै पहल गरेका पनि छैनन्, वामपन्थतिर फर्कने मुड पनि देखाएका छैनन्। बरु नयाँ शक्तिकै नेता देवेन्द्र पराजु्लीहरुको समूह भने माओवादीमा फर्कने आन्तरिक तयारीका चर्चाले राजनीतिक बजार गर्माएको छ।

विप्लवको विकल्प के?

जनयुद्धको शान्ति राजनीतिमा अवतरण भएसँगै नेत्रबिक्रम चन्द विप्लव तत्कालीन एकीकृत माओवादीमै रहे। माओवादीबाट वैद्य समूह फुटेसँगै विप्लव वैद्य माओवादीमा लागे। वैद्य माओवादीले पनि उनकै शब्दमा क्रान्तिको सही बाटो नसमाएको भन्दै आफ्नै नेतृत्वमा उनले नयाँ माओवादी बनाए। 

तर, माओवादीका गुट धेरै भएकाले हो कि समग्र नेपाली कम्युनिष्टहरुको प्रतिनिधि बन्ने रहरले हो उनले आफू नेतृत्वको माओवादी खेमाको दलको नाम नै नेपाल कम्युनिष्ट पार्टी मात्रै राखेका छन्। उनले अर्धभूमिगत रुपमा पार्टी संगठन निर्माण र यदाकदा कारवाहीका घटना पनि गराएका छन्। विप्लवका नजरमा प्रचण्ड, बाबुराम र वैद्यहरुसँग उनको दलको एकताको सम्भावना त्यतिबेलासम्म सम्भव छैन, जतिबेलासम्म उनीहरु विप्लवपथमा आउँदैनन्।

यस आधारमा विप्लवसँग पार्टी एकता भट्टराईले गर्ने सम्भावना नै छैन भने वैद्यबाट फुटेकाले उनले सोही दलसँग तत्कालै एकता गर्ने सम्भावना पनि कमजोर छ। प्रचण्ड माओवादीसँग पनि विप्लवको पार्टीको एकता तत्काललाई किन सम्भव देखिँदैन भने विप्लव र प्रचण्ड वर्तमान संविधान र परिवर्तनलाई हेर्ने दृष्टिकोणमा विपरित ध्रुवमा छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell