PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कांग्रेसमा कतै 'शशांक दा’ कतै 'शेखर दा’को माग, कसले थाम्दैछ कोइराला परिवारको विरासत?



अनन्तराज न्यौपाने

कांग्रेसमा कतै 'शशांक दा’ कतै 'शेखर दा’को माग, कसले थाम्दैछ कोइराला परिवारको विरासत?
तस्बिर: दिनेशचन्द्र थपलिया

कोइराला परिवारका तीन उत्तराधिकारीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएसँगै कोइराला परिवारको विरासतमा पुनः चर्चा चलेको छ। पारिवारिक विरासत अब डा. शशांक कि डा.शेखर भन्ने अनुमानका स्वर कांग्रेस बृतमा गुन्जिन थालेका छन्।

विश्वेश्वरपुत्र डा. शशांकले आफ्नो टोखास्थित निवासमा सहभोजको कार्यक्रम राखेका थिए। डा. शशांकका घरमा खानपिन र छलफल राखिएको हुँदा पार्टीको आगामी महाधिवेशनमा सभापति पदको उम्मेदवार उनै हुन् भन्ने एक थरीको अनुमान छ। शशांकले शेखर र सुजातालाई आफ्ना पक्षमा सहमत गराउन सहभोजको आयोजना गरेको तर्क उनीहरूको छ।


पछिल्लो महाधिवेशनमा अत्याधिक बहुमतले नेपाली काङ्ग्रेसको महामन्त्री पदमा निर्वाचित भएका उनी अपेक्षाकृत सक्रिय देखिएनन्। त्यसो त, शशांकको व्यक्तिगत जीवनशैली बारे टीकाटिप्पणी पनि कोइराला परिवारकै सदस्यबाट छताछुल्ल गरियो। उनका तुलनामा डा. शेखरको देश–विदेश दौडाहा र संगठनभित्रको  क्रियाशीलता उल्लेखनीय रह्यो।

पार्टी सभापति शेरबहादुर देउवाप्रति डा. शशांकको व्यवहार शालीन, सौम्य र संस्कारयुक्त रहँदै आएको पाइन्छ। आफ्नै समूहका नेता रामचन्द्र पौडेल देउवाविरूद्ध बारम्बार उग्र रूपमा प्रस्तुत हुँदै आए पनि महामन्त्री कोइराला धैर्यतापूर्वक बसेका देखिन्छन्। त्यसैले आफ्नो वर्तमान वा भावी प्रधानमन्त्रीलाई सुरक्षित गर्न देउवाले डा. शशांकलाई पार्टी सभापतिको टोपी लगाइदिनेछन् भन्ने ‘ख्याली पुलाउ’ कांग्रेस–बजारको एउटा चोकमा पाकिरहेको छ।

डा. शेखर पनि देउवाविरूद्ध त्यति आक्रमक छैनन्। बरु ऐन मौकामा उनले सहयोग नै पुर्‍याएका छन्। मोरङ काङ्ग्रेसको सभापति पदमा पौडेल समर्थक उम्मेदवार गोपालमानसिंह राजभण्डारीविरूद्ध आफ्ना पक्षका केदार कार्कीलाई बागी उठाएर डा. शेखरले देउवा पक्षका डिगबहादुर लिम्बुलाई निर्वाचित हुन बाटो खोलिदिएका थिए। नेविसंघको पछिल्लो महाधिवेशनमा पनि डा. शेखरले त्यसैगरी बागी उठाए। फलतः देउवाका उम्मेदवार नैनसिंह महरलाई सभापतिमा विजयी हुन सजिलो पर्‍यो।

दुबै डाक्टरले देउवासितको सम्बन्ध खासै बिगारेका छैनन् ।

तर डा. शशांकले पार्टी सभापतिका लागि गरेको एक पटकको आकांक्षाका लागि डा. शेखर बाधक हुने छैनन् बरु वर्तमान सभापति देउवाले समेत समर्थन दिनेछन् भन्ने अभिमत राख्ने कांग्रेसजन प्रसस्तै भेटिन्छन्।

‘हामीलाई एक पटक सान्दाजुका छोरा पार्टी सभापति भएको हेर्ने रहर छ’, कांग्रेसमा लामो योगदान गरेका विराटनगरका शन्तनु रेग्मीको भनाइ छ, ‘विरासतकै कुरा गर्ने हो भने पहिलो अधिकार डा. शशांककै हुन्छ।’

पार्टी महामन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक विराटनगर आएका डा. शशांकले आफ्नो रात्रि विश्रामका लागि कोइराला निवास रोजेनन्। त्यसपछि उनी फेरि विराटनगर आएका छैनन्। भनिन्छ, त्यसबेला शशांक–शेखरबीचको चिसोपन यथावत थियो। कोइराला निवास पिताजी कृष्णप्रसाद कोइरालाले १ सय ५० वर्षअघि निर्माण गरेका हुन्। यो घर अहिले भारतको नयाँ दिल्लीमा व्यवसाय गरिरहेका निरञ्जन र उनका सहोदर भाइ डा. शेखरको संयुक्त अंशमा परेको छ।


त्यसो त, राजनीतिक पृष्ठभूमि डा. शेखरको पनि होइन। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पटक रेक्टर र दुई पटक उपकुलपति भइसकेका उनी शाही कालमा तेस्रो पटक सोही पदको दौडमा पछारिएका थिए। तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले शेखरलाई उपकुलपति बनाउन मानेनन्। त्यसै पनि कांग्रेस र कोइराला परिवारप्रति तत्कालीन राजा ज्ञानेन्द्रको बक्रदृष्टि छँदै थियो। प्रतिष्ठानमा जागिर नपाएपछि शेखर कांग्रेसको राजनीतिमा छिरेका थिए।

अझै मोरङ कांग्रेसका पुराना नेता र कार्यकर्ता शेखरको खेमाभित्र समाहित छैनन्। उनले विशेषतः २०६२/६३ पछि उदाएका कार्यकर्तालाई संरक्षण गरेर आफ्नो खेमा सञ्चालन गरेका छन्। सञ्चारकर्मीसँग नजिकको सम्बन्ध राख्न र लोकप्रिय हुने कुरा बोल्न उनी सिपालु मानिन्छन्। यद्यपि आफूले बोलेका कतिपय कुरामा भने अडिग पाइँदैनन्। आरम्भमा धर्मनिरपेक्ष र बीचमा धार्मिक स्वतन्त्रताका पक्षमा मत व्यक्त गरेका उनले भारतमा मोदीको उदयसँगै हिन्दु राज्यका लागि वकालत गरेका थिए।

ठीक विपरित डा. शशांक कम बोल्छन् तर आफ्नो बोलीमा अडिन्छन्।

राजनीतिक सक्रियताका कारण डा. शेखरले मुलुकभर आफ्नै सञ्जाल पनि बनाइसकेका छन्। साम–दाम–दण्ड–भेद, चारै अस्त्र प्रयोग गर्न कुशल मानिएका उनले गिरिजापुत्री सुजातासँगको दूरीलाई पनि कम गरिसकेका छन्। सुजाताले शेखरका पक्षमा खुलेरै साथ दिने बचन दिइसकेको कोइराला निवासका जानकारको कथन छ।

त्यसैले आगामी महाधिवेशनमा ‘शशांक दा’ होइन ‘शेखर दा’ सभापतिका उम्मेदवार बन्दै हुनुहुन्छ भन्ने ‘ख्याली पुलाउ’ कांग्रेस बजारको अर्को मुख्य चोकमा पनि पाकिरहेको छ।

आफ्नै क्षेत्रमा भने डा. शेखरको पकड कमजोर बन्दै गएको छ। उनको पकेट मानिने मोरङको बुढीगंगा गाउँपालिका लोकतान्त्रिक फोरमले कब्जा गर्‍यो। विराटनगर महानगरपालिकामा शेखरका क्षेत्रमा पर्ने अधिकांश वडामा पनि उनले पक्षपोषण गरेका वडाध्यक्षका उम्मेदवारले हात धुनुपर्‍यो। पार्टीको जिल्ला सभापतिमा उनका समर्थक केदार कार्कीले हारेकै हुन्। तर, पनि राष्ट्रिय पृष्ठभूमिमा डा. शेखर आफ्नो कडा मेहनतका कारण स्थापित छन्।

शशांक, शेखर र सुजाताले ४ घण्टा लामो वार्तालापका क्रममा के निर्णय गरे भन्ने तथ्य प्रामाणिक रूपमा बाहिर आएको छैन। तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेकै छ। तर कांग्रेसरुपी अव्यवस्थित बजारमा कतै ‘अब शशांक दा’ र कतै ‘अब शेखर दा’ भन्ने ध्वनि गुञ्जित भइरहेकै छ। क्यान्सरको उपचार गराइरहेकी सुजाता अब सक्रिय राजनीतिमा नआउने संकेत करिव स्पस्ट छ। अनि अहिले पनि पूर्व आउँदा कोइराला निवासमै खान–बस्न रुचाउने वरिष्ठ नेता रामचन्द्र पौडेललाई कोइराला परिवारले कस्तो व्यवस्थापन गर्ने हो, त्यो पनि हेर्न बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell