PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

प्रधानमन्त्रीले भने–प्रदेश र सङ्घको निर्वाचनको मिति छिट्टै घोषणा



रासस

प्रधानमन्त्रीले भने–प्रदेश र सङ्घको निर्वाचनको मिति छिट्टै घोषणा

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन अपरिहार्य भएकाले प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुने बताएका छन्। 

बिपी कोइरालाको ३५औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले संविधानले निर्धारण गरेको समय सीमाभित्रै सबै निर्वाचन सम्पन्न गर्नुपर्ने बताए।

स्थानीय तहका दुई चरणका निर्वाचन सम्पन्न भइसकेको र तेस्रो चरणको निर्वाचन आगामी असोज २ गते तोकिएको जानकारी गराउँदै प्रधानमन्त्री देउवाले प्रदेश र सङ्घको निर्वाचनको तयारीका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको बताए।

निर्धारित समयमा तीनै तहका निर्वाचन सम्पन्न भएमा मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व हुने उनको भनाइ थियो।

प्रधानमन्त्री देउवाले कांग्रेस मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रमा रुपान्तरित हुन बाँकी अन्य पार्टीलाई पनि रुपान्तरित गर्नु कांग्रेसको जिम्मेवारी भएको बताए।

कांग्रेस नेतृ सुजाता कोइरालाले नेपाली कांग्रेसले सदैव मुलुकका हरेक संकट समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले नै जनताले पनि कांग्रेसलाई विश्वास गर्दै आएको बताउँदै पछिल्लो निर्वाचनमा विश्वास कम हुँदै गएकोप्रति पार्टी नेतृत्वको ध्यानाकर्षण गराइन्। 

कांग्रेस नेता लक्ष्मण घिमिरेले बिपीले प्रतिपादन गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त ओझेलमा पर्दै गएकामा चिन्ता व्यक्त गर्दै राजनीतिक नेतृत्वका क्रियाकलापका कारण राजनीतिक नेता र नेतृत्वप्रति जनतामा विश्वासको संकट बढेको बताए।

कार्यक्रममा प्रधानमन्त्री देउवाले लामो समयदेखि अशक्त बिरामी भई हाल अस्पताल भर्ना भएका कांग्रेस नेता चक्रप्रसाद बास्तोलालाई लोकतान्त्रिक योद्धा सम्मानबाट सम्मानित गरे।

२५ हजार रुपैयाँसहितको उक्त सम्मान नेता बास्तोलाकी धर्मपत्नी कुसुम बास्तोलले ग्रहण गरेकी थिइन्।  रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell