
सोल : दक्षिण कोरियाले उत्तर कोरियासँग राखेको सैन्य वार्ताको प्रस्तावको जवाफ दिन उत्तर कोरियासँग शुक्रबार पुनः आग्रह गरेको छ।
गतहप्ता दक्षिण कोरियाले उत्तरसँग वार्ताको प्रस्ताव राखेको थियो । तर सो प्रस्तावप्रति उत्तरको कुनै जवाफ आएको छैन।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग सैनिक सम्बन्धमा वार्ताका लागि गत सोमबार वार्ताको प्रस्ताव गरेको थियो। तर सो प्रस्तावपछि शुक्रबारसम्म पनि यस विषयमा कुनै प्रतिक्रिया आएको छैन।
दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता मुन सान च्युनलले भने,‘कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कम गर्नुपर्ने र शान्तिको लागि पहल थाल्नुपर्ने अत्यावश्यक भएकोले हामीले सो वार्ताको प्रस्ताव पठाएका हौँ।’
उनले सोलमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा उत्तर कोरियाले आफ्नो प्रस्तावको बारेमा बिचार गरेर जवाफ पठाओस् भन्ने आफूहरुको आग्रह भएको बताए।
प्रवक्ता च्युनले उत्तरसँगको सीमा क्षेत्रमा रहेको पानुमजोम गाउँमा आज नै वार्ता गर्नेगरी दक्षिण कोरियाले प्रस्ताव राखेको थियो।
उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि पनि सोही बैठकमा छलफल गर्न र उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणको शृंखलाका बारेमा पनि छलफल गर्न सो वार्ताको प्रस्ताव गरिएको उनको भनाई थियो।
उत्तर कोरियासँग रेड क्रसले उत्तर र दक्षिण कोरियाका परिवारका कोरियाली युद्धताका छुट्टिन पुगेका परिवारका सदस्यहरुको पुनर्मिलनका लागि पनि प्रस्ताव गरेको थियो। सो विषयमा दक्षिणले पनि आफ्नो प्रस्तावमा समेटेको थियो।
रेड क्रसले पनि सो वार्ताका लागि पहल गर्न भनेपछि दक्षिण कोरियाले पहल थालेको थियो। उसको जवाफ बमोजिम नै वार्ता कहिले गर्ने भन्ने विषयमा थाहा हुने पनि प्रवक्ता च्युनले बताए।
प्रवक्ता च्युनले सो नियमित पत्रकार सम्मेलनमा भने,‘कोरियाली प्रायद्वीपमा कुनै सैनिक क्रियाकलाप नगर्न र वार्ताको बारेमा सहमति गर्न औपचारिकरुपमा नै प्रस्ताव पठाएका थियौँ, तर त्यसको जवाफ नआएकोले वार्ताको बारेमा केही भन्नसक्ने स्थिति छैन।’
यो प्रस्ताव विशेषत दुवै तर्फका नागरिकको पुनर्मिलनका लागि गरिएको थियो। सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई समय समयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार दक्षिणबाट यो प्रस्ताव आएको हो।
दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनलले पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कमगर्ने प्रयासस्वरुप पनि वार्ताको प्रस्ताव गरिएको यसअघि बताएका थिए। रासस/एएफपी