काठमाडौं : एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले अचेल अधिकांश पार्टीहरुमा एउटै प्रश्नको सामना गर्नु पर्छ- सबै बैंक खाली गरिदिने हो?
लक्ष्मण मुस्कुराउँछन् मात्र उत्तर फर्काउँदैनन्। प्रश्न गर्नेले नै उत्तर दिन्छन्- हाम्रो बैंकबाटै ५/६ जना कर्मचारी एनआइसी पुगिसके।
हुन पनि, लक्ष्मणले एक वर्षमा नयाँ र पुराना गरेर ४२५ जना कर्मचारी बैंकमा नियुक्त गरिसकेका छन्। चालु बर्ष पनि बैंकले यही हाराहारीमा कर्मचारी नियुक्त गर्दैछ।
उच्च दरमा कर्मचारी भर्नाको खास कारण हो- एनआइसी एशिया व्यवसाय विस्तारका लागि गाउँ शहर सबैतिर शाखा खोलिरहेको छ। यो क्रम चालु आर्थिक बर्ष पनि निरन्तर चलिरहन्छ। लक्ष्मणको लक्ष्य छ, तीन बर्षमा शाखा संख्या ३०० पुर्याउने।
अहिले नै बैंकसँग ११९ वटा शाखा छन्। यसवाहेक चार विस्तारित काउन्टर, ७० एटिएम र चार हजार रेमिटेन्स काउन्टर पनि छन्।
***
२०५४ सालबाट सञ्चालनमा आएको बैंकमा सुरुका दिनमा प्रमुख कार्यकारी अधिकृत केआर एेयर थिए। उनले चार/पाँच बर्ष बैंकमा बिताए। त्यसपछि शशिन जोशी प्रमुख कार्यकारीका रुपमा भित्रिए। उनी १३ बर्षसम्म एनआइसीमा बसे। त्यसपछि कमान लक्ष्मण रिसालको हातमा आयो।
शशिन बाहिरिएको ११ महिनासम्म त रिसाल कामु प्रमुख कार्यकारी अधिकृत नै भए। तर कामुकै रुपमा उनले आफ्नो महत्वकांक्षी रणनीति अनुसार काम थालेर भोलीको बाटो तय गरि सकेका थिए। त्यसपछि उनी ‘कन्फर्म’ प्रमुख कार्यकारी भए।
उनी कन्फर्म भएपछि बैंकले नयाँ उडान सुरु गर्न थालेको छ। शाखा विस्तार, ब्यवसाय वृद्धि, कर्मचारी भर्ना, लगानी विविधीकरण सबैतिर उनी रणनीतिक हिसाबले अगाडि बढेका छन्। लगानी योग्य पूँजीको अभाव भएर पछिल्लो ६ महिना लगानी विस्तार गर्न नपाए पनि उनले गत आर्थिक बर्षमा व्यापार २३ प्रतिशतले बढाएका छन्।
किन यतिविघ्न 'एग्रेसिभ' देखिनु भएको? उत्तरमा रिसाल भन्छन्- हामी एग्रेसिभ छैनौं मात्र नयाँ रणनीति अनुसार अगाडि बढ्न खोजेका हौं।
कर्पोरेट बैंकिङमा फोकस एनआइसी एशिया अहिले साना तथा मझौला व्यवसाय, लघु कर्जामा केन्द्रित भएको छ। निक्षेपमा पनि संस्थागतबाट हात झिक्दै गइरहेको छ।
'दुई बर्षअघि कर्पोरेट ऋणको अनुपात ४२ प्रतिशत थियो। अहिले १९ प्रतिशतमा झारेका छौं,' उनले सुनाए, 'कर्पोरेट ऋण घटाए पनि समग्र व्यापार भने बढाएका छौं। संस्थागत निक्षेप पनि घटाउँदै लगेका छौं।'
तरलता अभाव भएर बैंकहरुले धमाधम ब्याज बढाउन थाले। एक बर्षे मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याजको स्किम पहिलो पल्ट एनआइसी एशियाले नै ल्यायो। मुद्दती निक्षेपको ब्याज बढ्न थालेपछि बचतमा पैसा राख्नेहरु मुद्दतीतिर सर्न थाले। यसले गर्दा समग्र प्रणालीको बचत खाताको रकम ९/१० प्रतिशतले घट्दा पनि एनआइसी एशियाको भने २९ प्रतिशतले बढेको छ। बचत खातामा सर्बसाधारणलाई उच्च ब्याज दिने पनि एनआइसी नै भएको छ। बैंकले ९ प्रतिशत ब्याज सर्वसाधारणलाई प्रस्ताव गरिरहेको छ।
बचत खातामा रकम कसरी बढ्यो त? प्रश्न लगत्तै उनले भने- सर्वसाधारणको माझमा पुग्न सफल भएकाले। अर्थात शाखा विस्तारले बचत बढाउन मद्दत पुगेको उनको भनाइ छ। अर्को कारण बचतको ब्याज बृद्धि पनि भएको उनले बताए।
लक्ष्मण अबको तीन बर्षभित्र कुल निक्षेपमा बचतको हिस्सा ५० प्रतिशत पुर्याउन आक्रामक रुपमा अगाडि बढिरहेका छन्। व्यापार विस्तार पनि त्यही अनुपातमा गर्दै लैजाने योजना छ।
'कर्पोरेट ऋणबाट खुद्रा ऋणमा आउन निक्कै कठिन छ,' उनले चुनौती सुनाए, 'तर यही नै दिगो बैंकिङ। त्यसैले हामी साना एसएमइ र लघु कर्जामा अगाडि बढिरहेका छौं।
८ करोड १० लाख रुपैयाँ चुक्ता पूँजीबाट खुलेको बैंकको आज पूँजी ६ अर्ब ७० करोड पुगिसकेको छ। गत आर्थिक बर्षमा गरेको एक अर्ब ४७ करोड रुपैयाँ नाफाबाट बोनस सेयर दिएर बैंकले पूँजी ८ अर्ब रुपैयाँ पुर्याउँदैछ।
'एनआइसी एशिया बैंक ठूलो भइसक्यो। लगानी बढाउने हिसावले नै कर्मचारी बढाइरहेका छौं। खर्च बढेर नाफा तुलनात्मक रुपमा नबढेको देखिन्छ। तर अहिले गरेको खर्च होइन लगानी हो,' उनले भने, 'यो लगानीले आगामी दिनमा राम्रो प्रतिफल दिन्छ।' अहिले बैंकमा १८७५ जना कर्मचारी पुगिसकेका छन्।
***
विराटनगरबाट खुलेको क्षेत्रीयस्तरको बैंक आज १९ बर्ष पुरा भएर २० बर्ष लागेको छ। २० बर्षे यात्रा पार गर्दासम्म बैंक अहिले जुन स्थानमा छ त्योभन्दा निकै राम्रो स्थानमा हुनु पर्ने लक्ष्मणलाई लाग्छ।
'सुरुका केही बर्षमा बैंकले गति लिन सकेन होला। त्यही भएर पछिपरेको हो,' उनले भने, 'अहिले सुधार गर्न खोजिरहेका छौं। जुन समय हामीले गुमायौं त्यसलाई अहिले पूर्ति गर्नु पर्ने छ। अबको तीन बर्षमा बैंक निकै उच्चकोटीको हुन्छ भन्ने अपेक्षा छ।'
समय अनुसारको सोच, रणनीति, सेवा प्रवाह र प्रतिबद्धतालाई मन्त्रका रुपमा लिएर बैंक अगाडि बढ्ने उनको भनाइ छ। 'उमेर वित्दैमा कोही विद्वान हुँदैन, उमेर वित्तैमा बैंक पनि ठूलो हुने होइन,' उनले भने, 'योजना हुनु पर्छ। रणनीति हुनु पर्छ। अनि ठूलो हुने हो। त्यही नमिलेको कुरालाई अहिले मिलाउन खोजिएको छ।'
***
बैंक ठूलो भएसँगै एनआइसी एशियामा जोखिम पनि त्यही अनुसार बढेको धेरैको अनुमान छ। लक्ष्मणले पनि जोखिमका बारेमा प्रश्न सुन्नु नपरेको होइन। उनलाई ठूलो हुनु भनेको जोखिम पनि बढ्नु हो भन्ने राम्रोसँग थाहा छ। त्यसैले उनले जोखिम न्यूनीकरणका लागि पहिलेदेखिनै तयारी गरिरहेका छन्।
'हाम्रो नियन्त्रण संयन्त्र अति नै बलियो छ। हाम्रोस्तरको बैंकमा जोखिम नियन्त्रणका लागि हामी जतिको ठूलो 'वर्कफोर्स' अरु बैंकमा सायदै होला,' उनले सुनाए, 'तीन तहको नियन्त्रण संयन्त्र छ।' आन्तरिक लेखा प्रणाली, जोखिम ब्यवस्थापन र नियमनकारी तथा बैकिङ मापदण्ड पूरा गर्ने विभाग नै छ। जोखिम नियन्त्रणका लागि मात्र करिव १०० जना कर्मचरी खटिएका छन्।
व्यापार विस्तारका नाममा ऋणको प्रस्ताव आउँदैमा त्यो पारित हुँदैन। त्यसलाई हेर्ने छुट्टै संयन्त्र छ। प्रत्येक शाखाको तीन/तीन महिनामा लेखा परीक्षण हुन्छ। समग्र प्रणालीका अडिट भइरहन्छ।
'बैंक भनेकै रिक्स विजिनेस हो। त्यसलाई ब्यवस्थापन गर्न हामीले पर्याप्त मेहेनत गरेका छौं। सशक्त नियन्त्रण संयन्त्र छ,' उनले भने।
तत्कालिन ग्रिण्डलेज बैक (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बाट करियर सुरु गरेका लक्ष्मण 'साइन्स ब्याकग्राउन्ड' का हुन्। बैंकिङ अनुमानमा भन्दा पनि 'लजिक' मा चल्ने उनको मान्यता छ।
ग्रिण्डलेजपछि स्ट्यान्डर्ड चार्टर्ड समूहको नेपाल प्रतिनिधि कार्यालयको प्रमुख भएर दुई बर्ष काम गरेपछि लक्ष्मण एनआइसी गए। त्यसपछि बैंक अफ एसिया गए। बैंक अफ एसिया एनआइसीसँग गाभियो। उनी पनि एनआइसी एसियाको 'सेकेन्डम्यान' हुँदै प्रमुख कार्यकारी अधिकृत भए।
लगातारजस्तो लाभांस बाँडिरहेको एनआइसीले उनको नेतृत्वमा पनि त्यसलाई निरन्तरता दिने लक्ष्य लिएको छ। 'पूँजी बढ्दासमेत हामीले प्रति सेयर आम्दानी मेन्टेन र इम्प्रुभ गरेका छौं। बढेको पूँजीमा राम्रो लाभांश दिन सक्छौं,' उनले भने, 'कुनै बर्ष २० होला कुनैमा २५ प्रतिशत होला। तर हामीले कुनै बर्ष २५ दिने कुनै बर्ष दिँदै नदिने गर्दैनौं। यो बर्ष पूँजी बृद्धिका लागि २० प्रतिशत बोनस शेयर आउँछ।'
आठ अर्ब रुपैयाँ चुक्ता पूँजी पुगेपछि थप बढाउनु पर्छ भन्ने पक्षमा लक्ष्मण छैनन्। उनले हिसाव सुनाए- रिजर्भसमेत गर्दा ११ अर्बजति पूँजी हुन्छ। यसले करिव ११० अर्बसम्म लगानी गर्न सकिन्छ।
भाडाको घरमा रहेको कर्पोरेट अफिसलाई आफ्नै ‘बिल्डिङ’मा सार्ने योजना पनि उनको मनमा खेल्न थालेको छ।
‘तर पहिले घर बनाउने कि बैंक बनाउने भन्ने हो, उनले भने।