PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

लेखक र अनुसन्धानकर्ताले किन बुझाउँदैनन् समयमै पाण्डुलिपि र प्रतिवेदन ?



रासस

लेखक र अनुसन्धानकर्ताले किन बुझाउँदैनन् समयमै पाण्डुलिपि र प्रतिवेदन ?
फोटो श्रोतः nepalacademy.org.np

  • प्रकाश सिलवाल 
काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठानबाट विद्वत्वृत्ति र लघु अनुसन्धानका लागि सम्झौता गर्ने लेखक र अनुसन्धानकर्ताले समयमा पाण्डुलिपि तथा प्रतिवेदन नबुझाउने प्रवृत्ति देखिएको छ। 

विभिन्न विधामा अनुसन्धानकर्तालाई निश्चित बजेट दिई जिम्मेवारी दिँदै आएकोमा समयमा काम सम्पन्न नहुँदा ताकेता गर्न प्रतिष्ठानका कर्मचारीलाई हैरानी हुने गरेको छ। 

२५ हजारदेखि एक लाखसम्मको बजेटमा ती अनुसन्धानका लागि सम्झौता भएका हुन्। सम्झौतालगत्तै ३० प्रतिशत पहिलो किस्ता र एक चरणको कामको विवरण दिएपछि ५० प्रतिशतसम्म रकम दोस्रो किस्ता निकासा हुन्छ तर पूर्ण अनुसन्धान नदिएसम्म अन्तिम किस्ता बक्यौता रहन्छ। 

लेखकले बजेट र समय थोरै भए पनि काम ओगट्न सुरुमा सम्झौता गरिहाल्ने र पछि लामो समय लगाउने गरेको पाइएको छ । कतिपयले समयसीमा पूरा गर्ने नाममा अन्य संस्थाका अनुन्धान वा शोधपत्र साभार गरेर पनि बुझाउने गरिएको छ। 

सम्बन्धित आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने अनुसन्धान पाँच वर्ष बितिसक्दा पनि पूरा नहुँदा यो आर्थिक वर्षदेखि कडाइ गर्ने तयारी भएको छ।

समयमा अनुसन्धान र कृति तयार गर्न नसक्ने औचित्यपूर्ण कारण खुलाई निवेदन दिएमा सम्बन्धित विभागीय प्रमुख र प्राज्ञ परिषद्ले समयावधि थप गर्न सक्ने भए पनि कतिपय लेखकहरु सम्पर्कमै नआउने समस्या देखिएको छ। 

अनुसन्धान परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७१/७२ मा डा गोविन्दबहादुर तुम्वाहाङको ‘लोहोरुङ र याम्फू भाषाको वर्ण व्यवस्थाको तुलनात्मक अध्ययन’, प्रा डा नरेशमान बज्राचार्यको ‘बौद्ध दर्शनमा महायान’, राजुमान डंगोलको ‘समकालीन नेपाली कवितामा सामाजिक यथार्थको अभिव्यञ्जना’ शीर्षकका अनुसन्धानका प्रतिवेदन हालसम्म प्राप्त भएको छैन।

डा दुवसु क्षेत्रीको ‘डायोस्पराका नेपाली कविता’ विषयको विद्वत्वृत्तिको आर्थिक वर्ष २०६८/६९ को सम्झौताको प्रतिवेदन हालसम्म बुझाइएको छैन । 

यस्तै आर्थिक वर्ष २०७२/७३ मा खेमकुमार भूर्तेलको ‘सोसियो कल्चरल कन्डिसन, इथनिक नलेज’, प्रा जगतप्रसाद उपाध्यायको ‘पौरस्त्य दर्शनको सैद्धान्तिक रुपरेखा’, राजेश्वर नेपालीको ‘मैथिली कथासंग्रह सेमली र सोहागिनका कथाहरुको नेपाली अनुवाद’ का प्रतिवेदनको अन्तिम किस्ताको बक्यौता देखिन्छ। 

प्रतिष्ठानका आर्थिक महाशाखा प्रमुख सुमन अधिकारीका अनुसार यसरी प्रतिवेदन नआएका कारण अनुन्धानको २६ लाख ५० हजार भुक्तानी गर्न बाँकी छ। 

प्रतिष्ठानका सदस्यसचिव डा जीवेन्द्रदेव गिरीले पाँच वर्षअघिका कतिपय अनुसन्धान सम्झौताका प्रतिवेदन प्राप्त भइरहेको भन्दै समयमा काम पूरा गराउन प्रभावकारी संयन्त्र बनाउने तयारी भइरहेको बताए। 

उनले विद्वत्वृत्ति र अनुसन्धानबाट प्राप्त पाण्डुलिपिमध्ये छानिएका केहीलाई क्रमशः प्रकाशन पनि गरिएको बताए। गत आर्थिक वर्षमा ‘प्रतिष्ठानका गौरवमय साठी वर्ष’, ‘भोजपुरी, मैथिली, तामाङ भाषाका अलगअलग नेपाली अंग्रेजी शब्दकोष प्रकाशित भएको जानकारी दिए। 

प्रतिष्ठानका योजना तथा कार्यक्रम महाशाखाका प्रमुख सन्ध्या पहाडीका अनुसार २०५२ सालभन्दा अगाडिका ३२९ र त्यसयताका २५० पाण्डुलिपि छन् । यीमध्ये कतिपय लेखक आफैँले प्रकाशन गरेका छन् भने अधिकांश अप्रकाशित र प्रयोगविहीन छन्। 

प्रतिष्ठानका कलाकार कर्मचारी सङ्घका अध्यक्ष विक्रम मैनाली भन्छन्,‘महत्वपूर्ण पाण्डुलिपिहरु धमिरा लागेर नष्ट हुने अवस्थामा छन्, तिनलाई बेवास्ता गरेर सस्तो प्रचारका कृति प्रकाशनका काम पनि भएका छन्, यसमा सुधार गर्नुपर्छ।’ रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell