
विराटनगर : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले क्षेत्र निर्धारण आयोग स्वतन्त्र रुपमा निष्पक्ष रुपमा काम गर्ने विश्वास व्यक्त गरेका छन्।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गच्छदारले आयोगका अध्यक्ष तराई–मधेसको व्यक्ति भएकाले निष्पक्ष काम हुने बताए।
उनले क्षेत्र निर्धारणको क्रममा जातीय ‘क्लष्टर’लाई भत्काउनु नहुने बताए।
क्षेत्र निर्धारणको काम जटिल भएको प्रसंग उल्लेख गर्दै उपप्रधानमन्त्री गच्छदारले निर्धारित समयमै सन्तुलित ढंगले आयोगले आफ्नो काम पूरा गर्ने विश्वास व्यक्त गरे।
अहिले संविधान संशोधनको प्रस्ताव पारित हुने सम्भावना नरहेको स्पष्ट पार्दै उनले तेस्रो चरणको निर्वाचनपछि प्रस्ताव पारित हुने सम्भावना रहेको बताए।
तेस्रो चरणको स्थानीय निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन सरकारले वातावरण बनाइरहेको बताउँदै उनले राजपालाई निर्वाचनमा सहभागी हुन आग्रह गरे।
गच्छदारले स्थानीय शासन ऐन हिजो नै संसदीय समितिमा पठाइएको र द्रूतगतिमा साउन १५ गतेसम्ममा पारित हुने बताए।
उपप्रधानमन्त्री गच्छदारले ‘कार्यविधि ऐन’ पारित नहुँञ्जेलसम्मका लागि ‘कार्यदेश’बाट कार्यविधि तय गरिएकाले स्थानीय तहमा काम गर्न समस्या नरहेको बताए। रासस