म्याग्दी : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन अघि संविधान संशोधन हुन नसक्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले म्याग्दीले बेनीमा आयोजना गरेको प्रवचन कार्यक्रममा खनालले तीनै चरणका निर्वाचन सम्पन्न भएपछि मात्रै आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने बताए।
नयाँ संविधान पूर्ण नरहेको बताउँदै खनालले स्थानीय, प्रदेश र राष्ट्रिय गरी तीनै चरणका निर्वाचन सम्पन्न भएपछि मात्रै संविधानलाई मुलुकको आवश्यकताअनुसार परिमार्जन गर्दै लैजानुपर्ने बताए।
पुष्पलालले अंगिकार गरेको नीतिले नेपालमा राणाशासनको अन्त्य गर्न सम्भव भएको उल्लेख गर्दै खनालले नेपालको कम्युनिष्ट देशभक्त र लोकतान्त्रिक आन्दोलनमा उनको योगदान महत्वपूर्ण रहेको बताए। रासस