PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

यतिले ल्यायो एटिआर विमान 



रासस

यतिले ल्यायो एटिआर विमान 

काठमाडौँ : निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको छ। 

काठमाडौँमा आज अवतरण गरेको कल साइन नाइन–एएमएन ७२ सिटे विमान कम्पनीले एक अर्बको लगानीमा खरिद गरेको हो। 

फ्रान्सको विमान निर्माता कम्पनी एटिआरमा निर्मित उक्त विमान सिंगापुरबाट थाइल्याण्ड र थाइल्याण्डको च्याङमाई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो। 

सो विमान सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले जानकारी दिए । उनका अनुसार यो विमानले सातापछि विराटनगर, भैरहवा, नेपालगञ्ज र भद्रपुर उडान थाल्नेछ। 

यो एटिआर विमानसँगै यतिका अब सातवटा विमान भएको छ । हाल यतिले बेलायतमा निर्मित ३० सिट क्षमताको जेटस्ट्रिम–४१ सिरिजका छ थान जहाज सञ्चालन गरिरहेको छ। 

यतिले यसवर्षभित्र थप दुई एटिआर विमान ल्याउँदैछ। अहिले खरिद गरेको कम्पनीबाटै थप दुई विमान ल्याउने तयारी भएको र एक महिनापछि अर्को विमान आउने व्यवस्थापक राईले जानकारी दिए । बुद्ध एयरले सुरुमै चारवटा एटिआर विमानबाट सेवा दिँदै आएको छ। 

भौतिक पूर्वाधार साँघुरो रहेको मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा एटिआर विमानले सहजता हुने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। 

प्रवक्ता ठाकुरले विमानस्थलको क्षमता साँघुरो भए पनि पर्यटन प्रवद्र्धनार्थ जहाज थपिनु सकारात्मक भएको बताए। 

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानतर्फ हेलिकप्टरसहित २० वटा वायु सेवा कम्पनीले उडान भर्दै आएका छन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell