PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

संसद बैठकः प्रदेश सभा र केन्द्रीय संसद्को निर्वाचन गर्न माग



रासस

संसद बैठकः प्रदेश सभा र केन्द्रीय संसद्को निर्वाचन गर्न माग

काठमाडौँ : व्यवस्थापिका– संसद्को आजको बैठकमा मन्त्रिपरिषद्को विस्तारमा भएको ढिलाइबारे ध्यानाकर्षण गराउँदै आगामी माघ ७ गतेभित्र प्रदेश सभा र केन्द्रीय संसद्को निर्वाचन गर्न माग भएको छ। 

बैठकको विशेष समयमा नेपाली कांग्रेसका बलबहादुर केसीले स्थानीय तहको दोस्रो तहको निर्वाचनमा उम्मेदवारी दिने क्रममा सोलुखुम्बु, नेचा–सल्यान गाउँपालिका– ६ मा आफू र कांग्रेसका वडाध्यक्षका उम्मेदवार टङ्कबहादुर कार्कीमाथि आक्रमण गर्नेमाथि हालसम्म कारबाही नगरिएको गुनासो गरे। 

नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेले सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठनमा ढिलाइ गरेकाले प्रदेश र केन्द्रीय संसद्को निर्वाचन हुनेमा आंशका व्यक्त गरे।

उनले बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि विवादास्पद कम्पनीलाई छनोट गरिएको आरोप लगाउँदै यसबाट स्थानीयवासीलाई मुआब्जा वितरण र आयोजनाले गति लिनेमा कार्य प्रभावकारी हुन नसक्ने बताए। 

राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीकुमारी शाहीले सुदूरपश्चिमका केही जिल्लामा अझै पनि छाउपढी प्रथाका नाममा महिलाले पीडा भोग्न बाध्य भएका विषयमा सभामुखको निर्देशनको माग गरे। 

सांसदहरुले संविधान संशोधनलाई टुंगोमा पुर्याउन नसकिएको, भूकम्पपीडितले हालसम्म पुनःनिर्माणको रकम नपाएको, महिला हिंसा गर्नेमाथि कारबाही नभएको र वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो रहेकामा पनि चिन्ता व्यक्त गरे।

केही सांसदले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय शासन व्यवस्था अपनाउन आवश्यक भएको बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell