PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

खोटाङमा क्रसर सञ्चालनमा रोक



रासस

खोटाङ : खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले नियमविपरीत सञ्चालनमा रहेको क्रसर उद्योगमाथि रोक लगाएको छ। 

रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित राँकेडाँडामा नियमविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगमाथि रोक लगाइएको हो। 

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडक कालोपत्र गर्ने काम गरिरहेको ठेकेदारले अनधिकृत रुपमा क्रसर उद्योग सञ्चालन गरिरहेको पाइएपछि क्रसर उद्योग अन्यत्र हटाउने निर्णय गरिएको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिए। 

ऐतिहासिक तथा पर्यटकीयस्थल महुरेगढी नजिक डेढ वर्षदेखि सञ्चालनमा रहेको क्रसर उद्योगले सदियौँदेखि हरेक साउन २ गतेका दिन राँके मेला लाग्ने महुरे क्षेत्रको अस्तित्व संकटमा पारेकाले तत्काल क्रसर उद्योगलाई अन्यत्र हटाउन भनिएको हो। 

क्रसर उद्योगका कारण किरात समुदायको सांस्कृतिक धरोहरका रुपमा रहेको राँके मेला लाग्ने चउरमा गिट्टी र ढुंगा थुप्रिएको छ। क्रसर सञ्चालकले स्थानीय सामुदायिक वनसँग सम्झौता गरेको भएपनि नगरपालिका, स्थानीय निकाय, वन कार्यालय लगायतको अनुमतिबिना नै मनोमानी ढंगले क्रसर उद्योग सञ्चालन गरिरहेको पाइएको छ। 

महुरे प्राकृतिक सामुदायिक वन नुनथलालाई वार्षिक ४० हजार र रातमाटे लुम्रे सामुदायिक वन बुइँपालाई वार्षिक २० हजार दिने सम्झौतामा ठेकेदारले क्रसर उद्योग सञ्चालनमा ल्याएको बताइन्छ। दुई सामुदायिक वन र ठेकेदारबीचमा तीन वर्षका लागि क्रसर सञ्चालन गर्ने सम्झौता भएको हो। 

सुरुमा क्रसरको विरोध गर्दा प्रशासनले समेत सञ्चालनका लागि दबाब दिएको रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपाका वडाध्यक्ष दिनेश राईले जानकारी दिए। क्रसर सञ्चालनको विरोधमा बुइँपाका स्थानीयवासीले क्रसरका सामान तोडफोडसमेत गरेका थिए। 

क्रसरका कारण डिलमुनि खसेको ढुंगामाटोले रातमाटे लुम्रे सामुदायिक वनको केही भाग पुरिएको छ। 

ऐतिहासिक स्थलको प्राकृतिक सौन्दर्य नै बिगार्ने गरी डेढ वर्षदेखि क्रसर उद्योग सञ्चालनमा रहेको भए पनि नगरपालिकामा जनप्रतिनिधि चुनिएपछि मात्र क्रसर उद्योगको असरका विषयमा आवाज उठेको हो।

सडक कालोपत्र गर्ने क्रममा आवश्यक गिट्टी तयार पार्न क्रसर उद्योग चाहिने भए पनि ऐतिहासिक, पर्यटकीयस्थल र सांस्कृतिकरुपमा महत्व बोकेका स्थानमा सञ्चालन गरिएकाले अन्यत्र सार्ने निर्णय गरिएको नगरप्रमुख रिजालले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell