काठमाडौँ : आगामी दसैँसम्म राजधानीबासीलाई मेलम्ची खानेपानी आयोजनाको पानी उपलब्ध गराउने सम्भावना अझै कायम रहेको सम्बद्ध पक्षले जानकारी दिएको छ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको दुई हजार ३०० मिटर सुरुङ खन्न बाँकी रहेकाले दसैंसम्म राजधानीमा पानी ल्याउन सम्भव रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जानकारी दिएको छ।
निर्माण व्यवसायीले प्रभावकारी काम गर्न नसकेको, सुरुङ खन्ने कार्यले गति लिन नसकेको तथा अन्य प्राविधिक जटिलता थपिएको भन्दै पानी आउने समयावधि लम्बिन थालेको भन्दै गुनासो आइरहेको बेला सम्बद्ध पक्षले भने तोकिएको समयमा नै सम्पन्न हुने विश्वास दिलाएको हो ।
दैनिक २० मिटरका दरले सुरुङ खन्ने कार्य जारी रहेको र हाल विभिन्न चार स्थानबाट नियमित रुपमा काम भइरहेको छ।
हाल सुरुङ खनिइरहेको स्थानमा कमजोर चट्टान भएका कारण द्रुत रुपमा सुरुङ खन्न अप्ठ्यारो परेको भए पनि निर्माण व्यवसायीले योजनाअनुसार नै काम गरिरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिको बैठकमा जानकारी दिए।
उनका अनुसार कुल २७ किलोमिटर लामो सुरुङमध्ये दुई हजार ३०० मिटर मात्रै सुरुङ बाँकी रहेको, ठेकेदारले योजनाअनुसार नै काम गरेको, कुनै समस्या आए तत्काल समाधान गर्ने गरिएको छ।
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचरण देवकोटाले सिन्धुको माथिल्लो भागमा नरम चट्टानका कारण केही जटिलता पैदा भएकाले विष्फोट गर्न नसकिएको बताए।
कार्यकारी निर्देशक देवकोटाले भने,‘वर्षाको समयमा भूमिगत पानीका कारण पनि केही समस्या पैदा भएको छ, तर सबै समस्या हटाएर काम भइरहेको छ। हामी जनतालाई दसैँमा मेलम्चीको पानी उपलब्ध गराउन रात दिन प्रयासरत छौँ।’ यसै महिनाको अन्त्यसम्म वाग्मतीको पानी हाल जडान गरिएको पाइपमा पठाएर परीक्षण गर्दैछौँ”– सचिव उपाध्यायले भने ।
मेलम्ची आयोजनाबाट तत्काल दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने र हाल विभिन्न स्रोतबाट प्राप्त भइरहेको ११ करोड लिटर पानीले राजधानीबासीलाई थप सहजता प्रदान गर्ने उनको भनाइ छ ।
यस्तै दोस्रो चरणमा लार्के र याङ्ग्री खोलाको पानी ल्याउनका लागि डिजाइनको काम अन्तिम चरणमा पुगेको छ। आगामी पुससम्म डिजाइन र लागतको सम्पूर्ण तयारी गरेर २०७५ देखि निर्माण सुरु गर्ने योजनामा मन्त्रालय रहेको छ।
उनले एसियाली विकास बैंकले सो आयोजनासमेत लगानी गर्ने तयारी गरिसकेको छ ।
मन्त्रालयले आयोजना स्थलमा पहुँचमार्ग निर्माण प्रक्रिया सुरु गर्ने तयारी गरेको उनको भनाइ छ। हाल राजधानीमा पाइप लाइन जडानको कार्य ९१ प्रतिशत पूरा भएको छ। जटिल रहेको करिब आठ किलोमिटर सडक खन्ने काम पनि जारी छ। नौमध्ये छवटा पानी जम्मा गर्ने ट्यांकीसमेत निर्माण भइरहेको छ।
चाबहिल–गौशाला सडक खण्डमा ट्राफिकका कारण नियमित रुपमा काम गर्न समस्या भएको जानकारी दिँदै सचिव उपाध्यायले बाँकी रहेको काम डेढ महिनामा सकिने बताए। उनले नयाँ जडान हुन नसकेको क्षेत्रमा समेत पुराना पाइपलाइनबाट पानी वितरण हुने जानकारी दिए। रासस