PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

चितवनमा एक सातामा १३ जना स्क्रब टाइफसका विरामी भेटिए, परीक्षण गर्न किट अभाव



राजेन्द्र आचार्य

चितवनमा एक सातामा १३ जना स्क्रब टाइफसका विरामी भेटिए, परीक्षण गर्न किट अभाव

चितवनः चितवनमा एक साताको अवधिमा नै १३ जना विरामीमा स्क्रब टाइफस देखिएको छ। पछिल्लो तीन महिनामा चितवनमा २२ जना विरामीमा स्क्रब टाइफस देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक राम केसीले जानकारी दिए। विरामीको संख्या बढेपछि गत साल जस्तै यो बर्ष पनि महामारी फैलिने त्रास स्थानीयमा देखिएको छ।

साउनमा ५४ जनामा परीक्षण गर्दा १३ जनामा स्क्रब टाइफसको समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाले बताए। झाले भने ‘हामी पनि अचम्मित परेका छौँ। यति धेरै विरामी पहिलो पटक देखिएकाले उच्च सतर्कता अपनाएका छौँ।’

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार २०७४ सालको वैशाखमा ५० जनाको परीक्षण गर्दा २ जना, जेठमा ६२ मध्ये २, असारमा १३७ को परीक्षणमा ५ र साउनको १ देखि ८ गतेसम्म ५४ जनाको स्वास्थ्य परीक्षणमा १३ जना स्क्रब टाइफस भेटिएको हो।

स्क्रब टाइफस पुष्टि भएका विरामी चितवन मेडिकल कलेज, नारायणी सामुदायिक अस्पताल, भरतपुर अस्पताल र रत्नननगर अस्पतालमा आएका विरामीको तथ्यांक रहेको जनस्वास्थ्य कार्यालय प्रमुख झाले बताए।

चितवनमा पहिलो पटक २०७२ वैशाखमा स्क्रब टाइफस देखिएको थियो। रोगका कारण आर्थिक वर्ष २०७२/०७३ मा एक जना, २०७३/०७४ मा ४ जना गरी ५ जनाको मुत्यु भइसकेको छ।


जिल्लामा फेरि किट अभाव

साउनको पहिलो सातामै १३ जना विरामी भेटिएपछि परीक्षण गराउने सर्वसाधरणको संख्या बढेको छ। तर, विरामीको संख्या बढेसँगै चितवनमा फेरि परीक्षण गर्ने किट अभाव भएको छ। जिल्लामा ९ गतेसम्म जम्मा १६ वटा मात्रै किट बाँकी रहेको निरीक्षक केसीले बताए। उनले किटका लागि मन्त्रालयमा जानकारी गराएको पनि जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell