
पोखरा: पोखरा लेखनाथ महानगरपालिका–२ बागलुङ बसपार्कबाट ठूलो परिणाममा लागुऔषधसहित आइतबार एकजना युवा पक्राउ परेका छन्।
लागुऔषध ओसारपसारमा संलग्न रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका–५ लुठावाका २१ वर्षीय वासुदेव बराईलाई वडा प्रहरी कार्यालय बगरको टोलीले पक्राउ गरेको हो। भैरहवाबाट पोखरा आउने रात्रि बसमा आएका अभियुक्तको साथबाट ६० ट्याबलेट नाइट्रोभयाट, ५० एम्पुल डाइजापाम, ५० एम्पुल फेनरागन र ५० थान नुर्फिम लागुऔषधसमेत बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका युवालाई आगुऔषधअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय कास्कीले थप अनुसन्धान गरिरहेको बताइएको छ। यस क्षेत्रका सम्पूर्ण जिल्लामा आगुऔषध नियन्त्रण विशेष ‘अपरेसन सिदा’नामक कार्ययोजना सञ्चालन भएलगत्तै लागुऔषध नियन्त्रणमा सक्रियता बढेको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ। रासस