
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताका कारण मन्त्रिपरिषद्को विस्तार आज पनि नहुने भएको छ। पार्टीको जारी केन्द्रीय समिति बैठकसहित अन्य व्यस्त कार्यतालिकाका कारण सोमबार मन्त्रिपरिषद् बिस्तारको तयारी रोकिएको हो। सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान भेटेर मन्त्रिपरिषद् बिस्तारबोर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
सोमबार बिहान प्रधानमन्त्रीको लुम्विनी बौद्ध विश्वविद्यालयको सभामा सहभागी हुने कार्यतालिका छ। सभा बिहान ९ बजेका लागि बोलाइएको छ। यस्तै बिहान १० बजे सुरक्षित मातृत्वसम्वन्धी कार्यक्रममा सहभागी हुने कार्यतालिका छ। बिहान १०ः३० बजे होटल याक एण्ड यतिमा उक्त कार्यक्रममा सहभागी हुने प्रधानमन्त्रीको कार्यतालिका छ।
बिहान ११ बजेदेखि पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने प्रधानमन्त्रीको कार्यतालिका छ।
प्रधानमन्त्रीको व्यस्तताका कारण मन्त्रिपरिषद् गठन हुन नसक्ने बताइए पनि मन्त्रीका आकांक्षाबारे अझै निर्णय भइसकेको छैन।
केन्द्रीय समिति बैठक लगत्तै मन्त्रिपरिषद् विस्तार
यसैबीच राससका अनुसार नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा प्रकासशरण महतले नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।
उनले भने ‘स्थानीय तहका दुई चरणका निर्वाचनपछि त्यसको समीक्षाका साथै अन्य समसामयिक विषयमा केन्द्रीय समिति बैठक बस्नुपर्ने भएकाले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सो बैठकमा व्यस्त हुनु परेको हो, बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुन्छ।’
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको आन्तरिक गृहकार्य सक्नुभएको र पार्टीको जारी केन्द्रीय समिति बैठक सकिनासाथ नेपाली कांग्रेस र अन्य दलहरुलाई मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारीमा रहनुभएको जानकारी डा महतले दिए।
नेता महतले हाल सञ्चारमा आएजस्तो कुनै आन्तरिक या अन्य विवादका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ नभएको पनि स्पष्ट पारे। उनले भने ‘प्रधानमन्त्रीले तयारी गरिसक्नुभएको छ, केन्द्रीय समिति बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुन्छ, यसमा अन्यथा मान्नुपर्ने केही छैन।’
केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहेकोले बैठक आजै वा भोलिसम्ममा सकिने पनि उनले जानकारी दिए।