
साउदी अरब : कतार संकट समाधानको पहलका लागि भन्दै टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले खाडी मुलुकहरूको भ्रमण सुरु गरेका छन्।
कुवेत जानु अघि उनी आइतबार साउदी अरब पुगेका छन्। साउदी अरबमा उनले शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ । एर्डोगानले कतार, कुवेत र साउदी अरेबियाको भ्रमण गर्ने योजनासहित टर्कीबाट निस्किएका हुन्।
भ्रमणमा निस्कनुअघि स्तानबुल विमानस्थमा उनले यो समस्या र संकट लामो समयसम्म रहिरहोस् भन्ने कसैको पनि चाहना नरहेको बताए।
उनले सरोकारबालाहरूसँग गम्भीर वार्ता र छलफल गरेर समस्या समाधानका लागि आफ्नो भ्रमण फलदायी हुने विश्वास पनि व्यक्त गरेका छन्।
पछिल्लो समयमा कतार गम्भीर कूटनीतिक संकटमा परेको छ । त्यसैले उनको यो भ्रमण त्यसतर्फ केन्द्रीत हुने भएको उनको कार्यालयले जनाएको छ । तर त्यसमा गरिने ठोस पहल कदमीका बारेमा भने केही बताइएको छैन।
कतारमाथि उसका छिमेकी खाडी मुलुकहरूले कूटनीतिक सम्बन्ध विच्छेद गरी नाकाबन्दी लगाएका छन्।
पछिल्लो समयमा कतारका छिमेकी खाडी मुलुकहरूले सन् २०१३ को साउदी अरेबियासँगको सम्झौता र २०१४ को खाडी मुलुकको सहकार्यका लागि गरिएको ‘सप्लीमेन्ट्री एग्रिमेन्ट’ सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको बताएका छन्।
तर यी सबै आरोपहरूको कतारले भने खण्डन गर्दै आएको छ। यही कारण साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँगको नाकाबन्दीलाई अझै पनि कायमै राखेका छन् ।रासस/सिन्ह्वा/एएफपी