PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

गाडीको ठक्करबाट चितवनमा एक वर्षमा १७ वन्यजन्तु मारिए



रासस

चितवन : चितवनको टिकौली र आँपटारीका वन क्षेत्रका राजमार्गमा गत आर्थिक वर्षमा १७ वटा वन्यजन्तु सवारीसाधनको ठक्करबाट मरेका छन्। 

जिल्ला वन कार्यालय चितवनका प्रमुख केदार पौडेलका अनुसार पूर्व–पश्चिम राजमार्गको टिकौलीमा १२ वटा जनावर सवारीसाधनको ठक्करबाट मरेका हुन्।

मरेका जनावरमा मृग र बँदेल छन् । वरण्डाभार वन क्षेत्रको बीचमा राजमार्ग पर्छ। तीव्र सवारीका कारण आवतजावत गर्ने वन्यजन्तु प्रभावित हुँदै आएका छन्। 

हाल सो क्षेत्रमा संयुक्त अप्रेशन क्याम्प खडा गरी गस्ती गरिँदै आएको छ। यसैगरी नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत आँपटारीदेखि जुगेडीसम्मको सडक खण्डमा गत आवमा पाँचवटा वन्यजन्तु सवारीको ठक्करबाट मरेका छन्।

पौडेलका अनुसार मर्ने जनावरमा रतुवा र मृग रहेका छन् । सो सडकको दुई ठाउँमा सडकमुनि जनावर आवातजावत गर्नका लागि बाटो निर्माण गरिएको भए पनि सो बाटोबाट जनावर खासै आवतजावत नगरेको उनले बताए। 

जंगल क्षेत्रमा वन्यजन्तु जोगाउने हो भने आकाशे सडकको विकल्प नरहेको पौडेलको भनाइ छ। पानी पिउने, चरनका लागि र संसर्गका लागि पनि वन्यजन्तु आवतजावत गर्ने गर्छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell