PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

टिम्बर कर्पोरेशनले काठको सिजनिङ तथा प्रशोधन प्लान्ट सञ्चालनमा ल्याउने



रासस

टिम्बर कर्पोरेशनले काठको सिजनिङ तथा प्रशोधन प्लान्ट सञ्चालनमा ल्याउने

चितवन : द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले भरतपुरमा काठको सिजनिङ तथा प्रशोधन प्लान्ट निर्माणका लागि आज भवन शिलान्यास गरेको छ। 

दुई करोड ५० लाख रुपैयाँको लागतमा प्लान्ट निर्माण गर्न लागिएको हो । तीन महिनाभित्र भवन निर्माण गरी प्लान्ट जडान गरिसक्ने कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले जानकारी दिए। प्लान्टका लागि आवश्यक पर्ने उपकरण नेपालमा भित्रिइसकेको छ। 

महाप्रबन्धक लौडारीका अनुसार नरम र कुकाठलाई सिजनिङ र प्रशोधन गरी लामो समयसम्म टिकाउ र बलियो बनाइने छ। सिजनिङले काठको पानीको मात्रालाई घटाउने काम गर्छ भने प्रशोधनले कुनै पनि रोग लाग्न नदिने गरी रसायन प्रयोग गरेर काठलाई बलियो बनाउने काम गर्छ। 

सो अवसरमा लौडारीले प्लान्ट देशको मध्यभागमा रहेकाले देशका जुनसुकै ठाउँबाट पनि काठ ल्याउन मिल्ने भएकाले चितवनमा प्लान्ट जडान गर्न लागिएको बताए । नेपालमै ठूलो परिमाणमा काठ सिजनिङ गर्ने यो पहिलो प्लान्ट हो।

लौडारीका अनुसार यो प्लान्टले एक वर्षमा एक लाख २० हजार क्यूविक फिट काठ सिजनिङ र प्रशोधन गर्न सक्छ। 

जिल्ला वन कार्यालय चितवनका प्रमुख केदार पौडेलका अनुसार काठलाई सिजनिङ र प्रशोधन गरेपछि १० गुणासम्म बलियो र टिकाउ हुन्छ।

नेपालको पहाडी क्षेत्रमा रहेका सल्लो, उत्तिस, चिलाउने, तराईका सिसौ, साज, कर्मा, बकाइनाजस्ता काठ सिजनिङ गर्न सकिने उनले बताए।

नेपालमा वर्षेनी तीन अर्बभन्दा बढीको काठ आयात हुने गरेकामा अब काठलाई सिजनिङ र प्रशोधन गर्न सके निर्यात गर्न सकिने सम्भावना रहेको छ। 

विश्वका जुनसुकै देशमा पनि आफ्नै उत्पादन कमजोर काठलाई सिजनिङ र प्रशोधन गरेर आवश्यकता पूर्ति गर्ने गरेको पाइन्छ। सिजनिङ र प्रशोधन गरेपछि सबै काठ सालको काठसरह बलियो हुने र पसांगिदैन। 

नेपालमा मागको २५ प्रतिशत हाराहारीमात्रै सरकारी तवरबाट काठ आपूर्ति हुने गरेको छ। 

द टिम्बर कर्पोरेशनले गत आर्थिक वर्षमा चार लाख क्वूविक फिट काठ बिक्री गरेको जनाएको छ। महाप्रबन्धक लौडारीले चालू आर्थिक वर्षमा सात लाख क्यूविक फिट काठ बिक्री गर्ने लक्ष्य रहेको बताए।

सिजनिङ र प्रशोधन हुन थालेपछि निजी वनसँग समेत समन्वय गरेर काठ खरिद गरिने जानकारी उनले दिए। 

हाल टिम्बर कर्पोरेशनले राष्ट्रिय वनबाट मात्रै काठ लिने गरेको छ । काठमाडौँसहित देशका ११ वटा डिपोबाट कर्पोरेशनले काठ बिक्री गर्दै आएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell