PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

कतार सङ्कट समाधानका लागि युरोपेली युनियनका उच्च अधिकारी गल्फ राष्ट्रको भ्रमणमा



रासस

कतार सङ्कट समाधानका लागि युरोपेली युनियनका उच्च अधिकारी गल्फ राष्ट्रको भ्रमणमा

कुवेतः कतारलाई उसका छिमेकी तथा गल्फ राष्ट्रहरुले लगाएको नाकाबन्दीपछि उत्पन्न समस्या समाधानका लागि कुवेतले पछिल्लो समयमा सक्रियता देखाएको छ। 

सो प्रयासस्वरुप कुवेतका विदेशमन्त्री सवाह खालिद अल सबाहले युरोपेली युनियनका विदेश मामिला सम्बन्धी प्रमुख फेडरिका मागरिनीसँग भेटवार्ता गरेका छन्। 

उनले पछिल्लो समयमा कतारमा जारी सङ्कटको समाधानका लागि मागरिनीको ध्यानाकर्षण गराउदै युरोपेली युनियनले यसका लागि के कस्तो सहयोग गर्नसक्छ भन्ने बारेमा जिज्ञासा राखेका थिए। 

गएको करिब डेढ महिनादेखि कतारमा कूटनीतिक सङ्कट सुरु भएको छ । यस विषयमा कुवेत, टर्की र फ्रान्सलेसमेत समस्या समाधानका लागि भनी गरिएका प्रयासहरु सफल हुन सकिरहेका छैनन्। 

तर कुवेतले भने सुरुदेखि नै वार्ताका लागि पनि मध्यस्थताको पहल गर्दै आएको छ। कुवेतकै पहलमा केही समयअघि कतारबाहेकका गल्फ राष्ट्रका विदेशमन्त्रीको बैठकको आयोजना उसले गरेको थियो। 

युरोपेली युनियनका विदेशनीति सम्बन्धी प्रमुख मागरिनी हाल कुवेतमा छन्। सोही क्रममा सोमबार उनी र कुवेती विदेशमन्त्रीबीच भेटवार्ता भएको हो। 

कतारमाथि उसका छिमेकी चार वटा खाडी देशले गत जुन ५ तारिखदेखि कूटनीतिक सम्बन्ध विच्छेद गरी नाकाबन्दी गरेका छन्। नाकाबन्दी अन्त्यका लागि ती देशले जुन २३ मा कतार समक्ष १३ बुदे शर्त राखेका छन्। 

यसैबीच सो समस्या समाधानको पहलस्वरुप टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले पनि गल्फ राष्ट्रहरुको भ्रमण सुरु गरेका छन्।रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell