काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विशिष्ट सम्पदाबारे ज्ञान दिने उपयुक्त संस्था लुम्बिनी बौद्ध विश्वविद्यालय भएको बताएका छन्।
विश्वविद्यालयका आठौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लुम्बिनी मात्र नभई बुद्धसँग जोडिएका कपिलवस्तु, रामग्रामजस्ता पुरातात्विक क्षेत्रका साथै स्वयम्भू, बौद्धनाथ, बौद्धकलाले युक्त विहार, मन्दिरजस्ता धार्मिक तथा सांस्कृतिक क्षेत्रबारे ज्ञान दिलाउन सो विश्वविद्यालय थप अग्रसर हुनुपर्ने बताए।
आफू २०६१ सालमा प्रधानमन्त्री हुँदा विश्वविद्यालय स्थापना भएको स्मरण गर्दै प्रधानमन्त्रीले बुद्ध कुनै एक धर्म, जाति, समुदाय र देशको नभई विश्वकै ज्योति भएको बताए।
प्रधानमन्त्री देउवाले बुद्ध धर्मको उद्भवदेखि वर्तमानसम्म बौद्ध धर्मको निरन्तरता भएको देश नेपाल मात्रै भएको बताए। उनले भने,‘उपदेश मानव मात्रको हितसँग मात्रै होइन, सम्पूर्ण प्राणीहरुको समान आदर, हक, हितसँग सम्बन्धित छ।’
श्रीलंका, थाइल्याण्ड र भारतजस्ता देशले आफूलाई ‘बौद्ध अध्ययन’ केन्द्रका रुपमा स्थापित गर्न कोसिस गर्दै आएको तर बुद्धको जन्मभूमि लुम्बिनी–नेपाल धार्मिक तथा पर्यटकीयस्थलका रुपमा मात्रै सीमित हुनु चिन्ताजनक भएको बताउँदै प्रधानमन्त्रीले अब लुम्बिनीलाई एक विशिष्ट अन्तर्राष्ट्रिय बौद्ध अध्ययन केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले व्यक्तिगत लाभ, कुण्ठा र तिरस्कार त्यागेर मानवकल्याणमा आधारिक सोच र कर्मका लागि बुद्धदर्शन उपयोगी भएको बताए।
विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले विश्वविद्यालयका गुरुयोजना पूर्णरुपमा सम्पन्न भइसकेको र प्राज्ञिक कार्यक्रमको पनि वृद्धि भइरहेको जानकारी दिए। रासस