
काठमाडौँ : आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पाँचौँ खेलमा नेपाल पाँच विकेटले विजयी भएको छ ।
सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५.१ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो । विजयी लक्ष्य नेपालले २२.२ ओभरमा पाँच विकेट गुमाएर पुरा गर्यो।
नेपालका लागि रोहितकुमार पौडेलले अविजित ३४ रन बनाए। उनले ३७ बलमा छ चौका प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले अविजित १९ रन, सन्दीप सुनारले १५ र अनिल साहले १२ रन बनाए।
बलिङतर्फ मलेसियाका विरनदीप सिंहले तीन तथा हफिजुद्धिनले दुई विकेट लिए।
यसअघि ब्याटिङ गर्दै मलेसियाका लागि साएद अजिजले ४६ तथा विरनदीपले १० रन बनाए । मलेसियाका चार ब्याट्सम्यान शून्यमा पेभेलियन फर्केका थिए।
बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिए। उनले ९.१ ओभर बलिङ गरी एक मेडन राखेर १३ रन मात्र खर्चे ।
साहब आलमले दुई तथा रिजन ढकालले एक विकेट लिए। आलमले ९ ओभरमा २३ रन दिए । मलेसियाविरुद्ध आजको खेलमा डेब्यु गरेका ढकालले पाँच ओभरमा एक मेडन राखि १५ रन दिए। नेपाल पाँच खेलमा चार जित र एक हारसँगै आठ अङ्कसहित दोस्रो स्थानमा रहेको छ। रासस