PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

नारायणगढ–मुग्लिन सडक खण्डमा अब रातमा पनि काम



रासस

नारायणगढ–मुग्लिन सडक खण्डमा अब रातमा पनि काम

चितवन : नारायणगढ–मुग्लिन सडक खण्डमा रातको समयमा भित्तो काट्ने काम तीव्रगतिमा अगाडि बढाइएको छ। सडक खण्डको घुमाउने र चेपाङ डाँडामा रातको समयमा हेलोजिन बत्ती बालेर सडकको भित्तो काट्न थालिएको हो। 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार नारायणगढबाट २२ किलोमिटर दुरीमा रहेको घुमाउनेको पूरै पहाड हटाउनुपर्ने भएकाले राति ९ बजेदेखि बिहान ४ बजेसम्म पहाडमाथि दुईवटा एक्साभेटर र तल दुईवटा लोडर राखेर कामलाई तीव्रता दिइएको छ।

दुई सय मिटर लम्बाइ र ४४ मिटर अग्लो पहाड भएको सो ठाउँमा सडक करिब छ मिटर मात्रै फराकिलो छ। 

सडकलाई १८ मिटर फराकिलो बनाउन पहाड हटाउन लागिएको र उक्त ठाउँमा करिब ३५ प्रतिशत काम मात्रै बाँकी रहेको खनालले जानकारी दिए।

असार २७ गतेबाट रातमा सवारी साधन बन्द गरेर सो ठाउँमा राति बत्ती बालेर काम थालिएको हो। तीन दिनयताबाट चेपाङ डाँडामा पनि राति नै काम थालिएको छ। नारायणगढबाट ३३ दशमलब ८ किलोमिटर टाढा मुग्लिनतर्फ चेपाङ डाँडो पर्दछ।

सो ठाउँमा केन्टिलिभर राख्न ३३ मिटर अग्लो ठाउँबाट पहाड काट्न थालिएको छ । त्यस ठाउँमा सडक पाँच मिटर मात्रै सडक फराकिलो रहेको खनालले बताए। 

चेपाङ डाँडामा १५० मिटर लामो क्षेत्रमा पहाड काट्नुपर्ने हुन्छ। जहाँ ७० प्रतिशत काम गर्न बाँकी छ। ठाउँ सानो भएकाले माथि एउटा ब्रेकर र तल सडकमा एउटा लोडर प्रयोग गरिएको छ।

काममा ढिलो भएपछि चौतर्फी दबाबसँगै ठेकेदार कम्पनीले रातको समयमा दासढुंगा क्षेत्रमा ग्राभेल गरेर सम्याउने काम पनि थालेको छ। कालोपत्रेको तयारीका लागि काम थालिएको हो।

सडकको पाँच दशमलब पाँच किलोमिटर क्षेत्रमा एक तह कालोपत्रे गरिएपनि अन्य क्षेत्रमा कालोपत्रे हुनसकेको छैन। 

सडकको आठसय मिटर क्षेत्रमा भित्तो काट्नुपर्ने काम बाँकी छ। यो सडक हालसम्म करिब ५२ प्रतिशत मात्रै काम भएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell