
काठमाडौँ : नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले पार्टीभित्र देखिएको भागबण्डा अन्त्य हुनुपर्ने बताएकी छन्।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा कोइरालाले भागबण्डाका कारण पार्टीले पराजय भोग्दै गएको भन्दै पार्टीभित्र देखिएको ६०/४० को भागबण्डा अन्त्य हुनुपर्ने बताइन्।
केन्द्रमा देखिएको गुटबन्दीको रोग स्थानीय तहमा पुगेको कारण स्थानीय तहको निर्वाचनमा पार्टी दोस्रो स्थानमा पुग्नुपरेको उनको भनाइ थियो।
कोइरालाले भनिन्‘पार्टीका निम्ति दुःख गरेको व्यक्तिलाई टिकट नदिएर नेताको नजिकको व्यक्तिलाई टिकट दिए २ नं प्रदेशमा पनि कांग्रेसले पराजय भोग्नुपर्ने अवस्था आउन सक्छ।’
गाउँमा संगठन निर्माणका लागि दुःख गरेका व्यक्तिलाई पार्टी नेतृत्वले सही ठाउँमा व्यवस्थापन गर्न नसके कांग्रेसको संगठन कमजोर हुने उनको भनाइ थियो।
कोइरालाले संविधानले महिलाका लागि धेरै अधिकार दिएको भन्दै पार्टीले पनि महिलाको उचित मूल्यांकन गर्नुपर्ने बताइन्। रासस