PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

वैद्य, भट्टराई र चन्दलाई प्रचण्डको आग्रहः एउटै पार्टीमा बसेर नमिलेका कुरा मिलाउँ



रासस

वैद्य, भट्टराई र चन्दलाई प्रचण्डको आग्रहः एउटै पार्टीमा बसेर नमिलेका कुरा मिलाउँ

काठमाडौँ :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न धारामा विभक्त माओवादी समूहलाई एकतामा ल्याएरै छाड्ने दृढता व्यक्त गरेका छन्। 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनताले पनि माओवादी मिल भन्ने जनादेश दिएका बताए।

उनले भने,‘माओवादी आन्दोलनको मूल प्रवाह माओवादी केन्द्र नै भएको पुष्टि भएको छ । अब एकता गर्नुको विकल्प छैन।’ 

उनले पुनःपार्टी एकतामा आउन मोहन वैद्य, नेत्रविक्रम चन्द र डा बाबुराम भट्टराईलाई आग्रह गरे। माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी एकताका लागि विशेष प्रस्तावसमेत पारित गरेको छ।

प्रचण्डले भने,‘अब छुट्टाछुट्टै बसेर जनता र राष्ट्रको चाहना पूरा हुन सक्दैन र क्रान्तिको उपलब्धिको समेत रक्षा हुन सक्दैन। आउनुस्, एउटै पार्टीमा बसेर नमिलेका कुरा मिलाउँला, एकता आजको प्रमुख आवश्यकता हो।’ उनले केही समयभित्रै एकता प्रक्रियाले गति लिने विश्वास व्यक्त गरे। 

उनले सबै शक्तिका बीचमा एकता गरेर जनतातिर फर्कने हो भने माओवादी पुनः पहिलो शक्तिका रुपमा स्थापित गर्न सकिने बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell