PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

प्रचण्डको माओवादी एकता अपिलः विपरित ध्रुवका माओवादी एक ठाउँमा आउलान?



सूर्य खड्का

प्रचण्डको माओवादी एकता अपिलः विपरित ध्रुवका माओवादी एक ठाउँमा आउलान?

२०६२/०६३ को जनआन्दोलनको सफलतापछि शान्तिपूर्ण राजनीतिमा आएसँगै पहिलो संविधानसभा चुनावमा ठूलो दल बनेको माओवादी अहिले कम्तीमा पनि आधा दर्जन चिरामा विभक्त छ। स्थानीय चुनाव २०७४ को जनपरीक्षाले माओवादीका सबै घटकलाई नराम्ररी सबक सिकाएको छ। त्यसैले सबै जसो माओवादी घटक एकताका लागि आह्वानसँगै प्रयास पनि गरिरहेका छन्।

संसदीय राजनीतिको मूल बाटोमा आइसकेको सत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही साउन पहिलो साता ६ दिनसम्म चलेको पार्टी हाइकमाण्डको वैठकबाटै सबै माओवादी घटकलाई एकताका लागि आह्वान गरेका कारण माओवादी एकताको राजनीतिक बजार फेरि एकपटक चर्चामा चुलिएको छ। आइतबार पत्रकार सम्मलेनमा माओवादी घटकमध्ये सबैभन्दा ठूलो घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नामै किटेर डा. बाबुराम भट्टराई, मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ पक्षधर माओवादी समूहलाई एकताका लागि खुल्ला आह्वान गरेका छन्।

प्रचण्डको यो आह्वान अगाडि नै नेकपा क्रान्तिकारीका अध्यक्ष मोहन वैद्यले पनि क्रान्तिकारी घटकबीच एकताका लागि पार्टी बैैठकद्धारा नै अपिल गरेका थिए। उता पूर्व माओवादी तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई खुलेरै संघीय समाजवादी फोरमँंगको एकतालाई निम्ट्याउन लागिरहेका छन्।

यस्तो बेलामा माओवादी घटकको एकताका लागि प्रचण्डले गरेको आह्वान र वैद्यले गरेको अपिल वा डा. भट्टराईले थालेको एकता अभियानको सार्थकता, औचित्य कति छ भन्ने बहस सुरु भएको छ ।


परिस्थितिको वाध्यताः विश्लेषक श्रेष्ठ

वाम विश्लेषक तथा लेखक श्याम श्रेष्ठ माओवादी घटकहरुले एकताको नयाँ पहल थाल्नुलाई परिस्थितिको बाध्यताको संज्ञा दिन्छन। पहिलोपोस्टसँगको कुराकानीमा सरकारद्धारा मनोनित सांसद समेत रहेका विश्लेषक श्रेष्ठ भन्छन, ‘माओवादीका सबै घटकलाई एकता गर्नतिर परिस्थितिले बाध्य पारेको छ। चुनावमा सबै माओवादीको हैसियत खस्केको छ। वैद्यजीको पार्टीको हालत पनि कमजोर देखायो चुनावले। उहाँले त पार्टी बिभाजनको औचित्य पुष्टि गर्न पनि सक्नुभएन। माओवादी केन्द्र त झन तेस्रोमा नै खुम्चियो। अब माओवादीलाई दोस्रो वा पहिलो दलमा उक्लिनुनै छ। त्यसकारण उनीहरुलाई स्थितिले एकतातिर धकेलिरहेको छ।’

तर, विश्लेषक श्रेष्ठका शव्दमा एकताको लक्षण देखिएको भए पनि तत्काल माओवादी घटकबीच एकता भइहाल्ने सम्भावना भने अत्यन्तै न्यून छ। आखिर किन त? श्रेष्ठ थप्छन, ‘राजनीतिक लाइनकै कारण अहिले नै माओवदीहरु एक भइहाल्छन भन्न सकिँदैन। पहिले पनि राजनीतिक लाइन नमिलेकै कारण उनीहरु फुटेका हुन्। जुन सैद्धान्तिक मतभिन्नता देखाएर हिजो फुटे, ती भिन्नतामा समान दृष्टिकोण नबन्दासम्म एकता भइहाल्छ जस्तो मलाई लाग्दैन।’

मौहन वैद्य र प्रचण्डको एकै समयमा आएको एकता आह्वान तथा डा. भट्टराईको संघीय समाजवादीसँगको जारी एकता वार्तालाई विश्लेषक श्रेष्ठ समयको दबाबको उपज भन्छन। ‘सबैलाई समयको चाप छ, निकै दबाब छ। संघीय समाजवादीसँग बाबुरामको नयाँ शक्तिको एकता प्रक्रिया जारी रहे पनि कुरा मिलिसकेको छैन। यता वैद्य वा प्रचण्डसँगै बाबुराम मिल्ने कुरा पनि फरक राजनीतिक लाइनकै कारण सम्भावना देखिदैन। एकता त गर्ने तर को सँग ? भन्नेमा नयाँ शक्तिमा पनि अन्योल नै देखिन्छ।’

सांसद तथा विश्लेषक श्रेष्ठले माओवादी घटकबीच नयाँ शक्तिको एकता हुन नसक्ने आधार प्रस्तुत गर्दै एकताको अप्ठयारोबारे अथ्र्याए।


हाम्रा लागि प्रचण्ड र कांग्रेस–एमाले एकैः गजुरेल

नेकपा क्रान्तिकारीका उपाध्यक्ष तथा दलका गणतान्त्रिक चुनावी मोर्चाका संयोजक सीपी गजुरेलले त माओवादीबीच तत्काल होइन दीर्घकालसम्म पनि एकता सम्भव नरहेको बताए।

पहिलोपोस्टसँगको कुराकानीमा उपाध्यक्ष गजुरेलले भने, ‘हामीले भनेको एकता क्रान्तिकारीबीचको मात्रै एकता हो। हामी र माओवादी केन्द्रबीचको एकताको उदेश्य नै फरक छ। क्रान्तिकारी शक्तिहरुलाई हेर्ने दृष्टिकोणमा नै हामीबीच गम्भीर अन्तर छ। अहिले धेरै खालका वाम पार्टी क्रियाशील छन्। स्वतन्त्र हैसियतमा पनि क्रान्तिकारी शक्ति क्रियाशील छन्। साना–साना क्रान्तिकारी शक्ति पनि छन्। उनीहरु बीचको एकतालाई मूर्त रुप दिने नै हाम्रो पार्टीको लक्ष्य हो।’

नेता गजुरेलका शव्दमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेको एकतामा क्रान्तिकारी माओवादीको कुनै सम्वन्ध नै छैन। र, माओवादी नामले रहे पनि प्रचण्ड माओवादी वा क्रान्तिकारी नरहेकोले पनि उनले भनेको माओवादी एकताको कुनै तुक छैन।

नेता गजुरेल थप्छन, ‘हिजो हामीले पार्टी विभाजनका बेला माओवादी केन्द्रलाई प्रतिक्रियावादी उन्मुख मात्रै भनेका थियौँ। तर, आजको स्थितिमा उ हिजोको हाम्रो मूल्याङ्कन भन्दा पनि धेरै अघि बढेर पूरै प्रतिक्रियावादी कित्ताको मतियार बनिसकेको छ। आधारभूत रुपमा नेकपा एमाले वा नेपाली कांग्रेसभन्दा माओवादी कुनै पनि हिसाबले फरक रहेन। हामी कांग्रेस, एमाले वा माओवादीलाई कुनै रुपमा भिन्न पार्टीका रुपमा हेरिरहेका छैनौँ। त्यसैले स्वर उस्तै–उस्तै सुनिए पनि हामीले भनेको एकता विशुद्ध क्रान्तिकारीसँगको मात्रै हो। प्रचण्डले भनेको र खोजेको जस्तो एकता होइन।’

तत्कालीन एकीकृत माओवादीबाट विद्रोह गरेर फुट्दा मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’, रामबहादुर थापा ‘बादल’ र गजुरेलहरु एकसाथ थिए। तर, अहिले बादलहरु माओवादी केन्द्रमा फर्किसकेका छन्। विप्लवले वैद्य माओवादीबाट पनि विद्रोह गरी आफ्नै नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी बनाएका छन्।

वैद्य माओवादीका उपाध्यक्ष गजुरेल क्रान्तिकारीहरुको एकताको प्रयास अघि बढाउँदा त्यसमा प्रचण्ड मात्रै होइन विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी पनि अट्न नसक्ने तर्क गर्छन। विप्लवसँगको एकताबारे नेता गजुरेल भन्छन, ‘उनीहरुसँग पनि हामी अहिल्यै मिल्न सक्ने अवस्था छैन। केका आधारमा मिल्ने?’

अर्को प्रसङ्गमा माओवादीबाटै विद्रोह गरेर गैरवामपन्थी दल नयाँ शक्ति बनाएका डा. बाबुराम भट्टराईसँग पनि नेकपा क्रान्तिकारीकोे एकताको कल्पना गर्न नसकिने नेता गजुरेलले स्पष्ट पारे। वाम विश्लेषक श्याम श्रेष्ठले पनि वैचारिक लाइन नै विपरित भएका कारण वैद्य, प्रचण्ड र बाबुरामको दलबीच एकताको सम्भावना कमजोर रहेको टिप्पणी गरेका छन्।


नयाँ शक्तिको नयाँ बाटो

करिव ३० वर्ष बढीको वामपन्थी राजनीति त्यागेर वैकल्पिक प्रजातान्त्रिक शक्ति निर्माणका लागि भन्दै नयाँ शक्ति नामक नयाँ दल बनाएका डा. बाबुराम भट्टराईले संघीय समाजवादी फोरमसँगको पार्टी एकता युद्धस्तरमा अघि बढाएका छन्। नयाँ शक्तिको यो नयाँ बाटोमा पार्टीभित्रै सर्वसम्मत निर्णय गराउन नसकेका कारण उपेन्द्र यादव नेतृत्वको फोरमसँग नयाँ शक्तिको एकताको अभ्यासले मूर्त रुप लिन सकेको छैन। भलै प्रयास जारी छ।

गैरवामपन्थी राजनीतिको नयाँ बाटो हिडेका पूर्व माओवादी समूहको बाहुल्य रहेको नयाँ शक्तिलाई वैद्य वा प्रचण्डको एकता आह्वानले असर नपार्ने विश्लेषक श्याम श्रेष्को ठम्याई छ। वामपन्थी राजनीतिका एक अध्येता समेत रहेका श्रेष्ठ भन्छन, ‘बाबुरामलाई पनि समयको दबाब छ –कोसँग मिल्ने कता मिल्ने। किनभने उनको दलले पनि चुनावमा मार खायो। अब मिल्ने शक्ति उनले संघीय समाजवादीलाई रोजे पनि त्यो एकता प्रयास हाललाई ‘तुहिए’ जस्तो छ। राजनीतिक लाइन नै फेरिसकेका कारण उनी वैद्य वा प्रचण्डसँग फर्किन कठिन छ।’

 

प्रचण्ड–बाबुराम क्रान्तिका धोकेवाजः बास्तोला

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नामै किटेर तथा मोहन वैद्यले क्रान्तिकारी शक्ति भन्दै सांकेतिक रुपमा नेत्रविक्रम चन्द विप्लवको कम्युनिष्ट पार्टीलाई पनि एकताको आह्वान गरे पनि त्यसलाई सो दलले महत्व नै दिएको छैन। विप्लव नेतृत्वको दलले पार्टीको नामबाटै माओवादी शव्द गायव गरेर नेपाल कम्युनिष्ट पार्टी मात्रै राखेको छ।

सो दलका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोलाका शव्दमा माओवादी जनयुद्धलाई प्रचण्ड बाबुरामहरुले नै धोका दिएका कारण उनीहरुसँग एकता वा सहकार्यको सम्भावना नै छैन। भारतीय डिजाइनमा शान्ति सम्झौता भएको अहिले पुष्टि भएको र माओवादी आन्दोलनमाथि धोका दिन प्रचण्ड बाबुरामलाई शिखण्डीका रुपमा प्रयोग गरिएको र माओवादी आन्दोलनले धोका खाएको नेता बास्तोलाको दाबी छ।

‘प्रचण्डले भनेको एकताको अर्थ के? हिजोका सबै गल्तीप्रति पश्चताप गरेर नयाँ संघर्षका लागि तयार भएका हुन भने मात्रै सोच्न सकिन्छ, अन्यथा एकताको औचित्य छैन’ नेता बास्तोलाले पहिलोपोस्टसँग भने।

विचार र नीति मिल्नेसँग एकता हुन सक्ने भए पनि प्रचण्डले आह्वान गरे जस्तो एकता सम्भव नरहेको नेता बास्तोलको भनाइले स्पष्ट पार्दछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell