इस्लामाबाद : पाकिस्तानको पूर्वी क्षेत्रमा पर्ने लाहोरमा भएको आत्मघाती विष्फोटमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने ४९ भन्दा बढी घाइते भएका छन्।
स्थानीय सञ्चारमाध्यमहरूले स्थानीय समयअनुसार अपरान्ह ४ बजेतिर विष्फोट भएको जानकारी दिएका छन्। पञ्जाव प्रान्तको राजधानी लाहोरको एउटा तरकारी बजार नजिकै सुरक्षाकर्मीहरूलाई लक्षित गरी विष्फोट गराइएको थियो।
विष्फोटमा परी कम्तीमा चार जना प्रहरीको मृत्यु भएको र अन्य केही घाइते भएका प्रहरी अधिकारीहरूले जनाएका छन्। विष्फोटबाट घटनास्थल आसपासका केही भवनहरू र केही सवारी साधन ध्वस्त भएका छन्।
सुरक्षाकर्मी र उद्धारकर्ताहरूले घटनास्थलमा धेरै जनालाई उद्धार गरेका थिए। उनीहरूलाई विभिन्न अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ ।
सिकिस्त घाइतेलाई लाहोर अस्पतालमा उपचार गराइएको छ। अस्पतालहरूले दिएको जानकारीअनुसार सात जना गम्भीर घाइते भएका छन् ।
पञ्जाव प्रान्तका मुख्य मन्त्री शाहबाज शरिफले घटनाको भत्सर्ना गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्।
विष्फोटको जिम्मेवारी पाकिस्तानको तालिवान समूहले लिएको छ । रासस/सिन्ह्वा