इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–३ बुढीखापको पूर्वपट्टि रहेको मोरङको सुन्दरहरैचा नगरपालिका–५ को फोकलेण्ड टापुमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट दुई बालबालिकाको ज्यान गएपछि गाउँमा आतंक फैलिएको छ।
अत्यधिक ज्वरो आउने शरीर दुख्ने र टाउको फुट्ने गरी दुख्ने गरेका कारण बिरामी भएकामध्ये १४ वर्षीय अजय राई र रङमाया तामाङको चार वर्षीया छोरी सुस्मिताको ज्यान गएको हो भने अन्य दुई दर्जन बढी सिकिस्त छन्।
सुनसरी इटहरी–३ को बौका झोडाको बुढीखापको पूर्वपट्टि सुन्दरहरैचा–५ लाटीखोला पश्चिमपट्टि पर्ने बस्तीका अधिकांश घरका मानिस केही दिनदेखि अधिक ज्वरोको संक्रमणका कारण थलिएर ओछ्यानबाट उठ्नै नसक्ने बन्दै अकालमा ज्यान जान थालेपछि हिजोदेखि सुन्दरहरैचाको स्वास्थ्य चौकी र जिल्ला जनस्वास्थ्य कार्यालयको चिकित्सक टोलीले सो क्षेत्रमा उपचार थालेको छ ।
ती बासिन्दाको आजपनि स्वास्थ्य जाँच गरी त्यहाँ उपचार हुन नसक्नेमध्ये २५ जनालाई थप उपचारका लागि विराटनगरस्थित नोवेल मेडिकल कलेज पठाउने तयारी भइरहेको वडाध्यक्ष राम रिजालले जानकारी दिए।
एकाएक भाइरल ज्वरो फैलनु र उपचारका लागि अस्पतालसम्म पुग्ने कोशिश गर्दा गर्दै दुई बालबालिकाको ज्यान गएपछि फोकलेण्ड टापुवासीमा अरु ज्यान जान सक्ने जोखिमका कारणले त्रास फैलिएको हो।
हिजैदेखि प्रभावित क्षेत्रमा चिकित्सक टोली परिचालित भई गाउँको सरसफाइसँगै भाइरल ज्वरो प्रभावितका स्वास्थ्य जाँच गर्ने कार्यमा तीव्रता दिइएको पनि वडाध्यक्ष रिजालले बताए।
उच्च ज्वरोको कारणले ती दुवै बालबालिकाको मस्तिष्कमा गहिरो दखल परेको र ब्रेनडेथले गर्दा उनीहरुको ज्यान गएको उपचारमा सम्लग्न बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले जानकारी दिएको स्थानीयवासीले बताएका छन्।
गर्मीसँगै तातो हावा आउने र शरीरले थाम्नै नसक्ने गरी ज्वरो आउने गरेकाले बालबालिकालाई भाइरल ज्यादै जोखिमपूर्ण बन्न पुगेको चिकित्सकको भनाइ छ।
आदिवासी समुदायको ३५ घर परिवारको बसोबास रहेको टापुका १० भन्दाबढी परिवारमा प्रायः सबैजसोमा उच्च ज्वरोको संक्रमण फैलिएपछि एकाएक त्यहाँ बसोबास गर्नेका बीचमा त्रास सिर्जना भएको पनि स्थानीयवासीको भनाइ छ। रासस