PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

कांग्रेसमा मन्त्रीको भागवण्डा मिल्यो, यी हुन् मन्त्री बन्नेहरु



रमेश वाग्ले

कांग्रेसमा मन्त्रीको भागवण्डा मिल्यो, यी हुन् मन्त्री बन्नेहरु

काठमाडौं : नेपाली कांग्रेसमा मन्त्रीहरुको भागवण्डा मिलेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाबीच भागवण्डा मिलेसँगै मन्त्रिपरिषद् भोलि विस्तार हुने बाटो खुल्ला भएको छ। 

विभिन्न कारणले ढिला हुँदै आजका लागि तय गरिएको मन्त्रिपरिषद् पौडेल र देउवाबीचको भागवण्डा विवादकै कारण स्थगित भएको थियो। 

वरिष्ठ नेता पौडेलले पक्षले कांग्रेसले पाउने १३ मन्त्रालयमा ६ मा आफ्नो दावी राखेपछि उत्पन्न विवादमा अन्ततः आफूले भनेकै संख्यामा पौडेल पक्षलाई सहमत गराउन देउवा सफल भए। 

विवाद मिलेसँगै पौडेल पक्षले चार जनाको नामसमेत प्रधानमन्त्रीलाई दिएको छ। पौडेलले दिएका सबै मन्त्रिपरिषद्का लागि नयाँ अनुहार हुन्। 

पौडेलले बुझाएका नाममा केन्द्रीय सदस्य रामकृष्ण यादव तथा सांसदहरु यज्ञबहादुर थापा, संजय गौतम र राजन केसी छन्। पौडेलले बुझाएका नाम मध्ये सांसद् गौतम बर्दियाका सभापति, थापा कास्कीका पूर्वसभापति हुन् भने सांसद् केसी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काठमाडौं १० बाट हराएर निर्वाचित सांसद् हुन्। 

पहिलो चरणमा नाम बुझाइएका बलबहादुर केसी भने पौडेलको सिफारिसमा यो पटक परेका छैनन्। यस्तै पौडेल पक्षबाट मन्त्रीका लागि चर्चामा रहेका सरिता प्रसाईँ र कमला पन्तको नाम सिफारिस नभएसँगै पौडेल पक्षबाट महिला मन्त्री नहुने भएका हुन्। 

यी हुन् देउवा पक्षबाट मन्त्री बन्नेहरु

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट चार मन्त्री थपिने भएका छन्। यस अघि तीन जनै मन्त्री आफ्नो पक्षका बनाएका प्रधानमन्त्री देउवाले पुनः आफ्नै पक्षका चार थपेर सात बनाउन लागेका हुन्। 

देउवाले आफ्नो समूहबाट थप्न लागेका मन्त्रीहरुमा मीनबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, वीरबहादुर बलायर र अम्बिका बस्नेत छन्। 

देउवाले आफ्नो पक्षबाट थप्न लागेका सबै मन्त्री केन्द्रीय सदस्य हुन्। त्यसमध्ये विश्वकर्मा र बलायर सुरुदेखि नै देउवा समूहका हुन् भने अम्बिका १२औं र जोशी १३औं महाधिवेशनबाट देउवा पक्षमा आएका हुन्। 

महिला संघकी पूर्वअध्यक्ष समेत रहेकी अम्विका कांग्रेसबाट मन्त्री हुनेमा एक्ली महिला हुने भएकी छन्। यसअघिको मन्त्रिपरिषद्मा १५ मन्त्रालय लिंदा कोषाध्यक्ष सीतादेवी यादवलाई मात्र फूलमन्त्री बनाइएको थियो। देउवा पक्षबाट यस अघि सांसद भरतकुमार शाहको नाम चर्चामा ल्याइए पनि खेमा परिवर्तन गरेका जोशीलाई मन्त्री बनाउनुपर्ने अवस्था आएपछि उनी त्यहाँबाट बाहिरिएका हुन्। 

कांग्रेसका यस अघिका तीन मन्त्री उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री फर्मुल्लाह मन्सुर देउवा समूहका हुन्। 

बाँकी १० मन्त्री मध्ये देउवा पक्षबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडल पक्षबाट ४ जना हुनेछन् भने कृष्ण सिटौला समूह र खुमबहादुर खड्का समूहबाट एकएक मन्त्री बन्नेछन् ।

कांग्रेस निकट श्रोतका अनुसार यस्तै सिटौला समूहबाट भीमसेनदास प्रधान र खुमबहादुर समूहबाट मोहनबहादुर बस्नेतको नाम लगभग टुंगिएको छ।

बुधबार हुने मन्त्रिपरिषद् विस्तारमा माओवादीका मन्त्रीहरु पनि समेटिनेछन्। माओवादीले मन्त्रीको नाम टुंगो लगाइसकेको भनेको छ। तर अहिलेसम्म सार्वजनिक गरेको छैन ।

९ मन्त्रालय पाएको माओवादीबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा प्रभाकर र शहरी विकास मन्त्री प्रभु साह भइसकेका छन् ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell