- नरहरि पौड्याल
पोखरा : ऋण सम्झौता बिनै निकै हतारमा तामझामबीच शिलान्यास गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले शिलन्यास भएको डेढवर्षपछि बल्ल गतिलिन थालको छ।
लामो समयसम्म आन्तरिक सहमति र कागजी प्रक्रियाको चक्रब्यूहमा फसेको पोखरा विमानस्थल निर्माणले गतिलिन थालेको हो। गतवर्ष बैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत प्रमुख दलका शीर्ष नेताहरुले विमानस्थलको शिलान्यास गरेका थिए।
शिलान्यास गरे पनि विमानस्थल निर्माणले कागजी प्रक्रियाको बहानामा डेढवर्ष गुजारेको छ। शिलन्यासको करिव डेढ वर्षपछि मात्र चीनको एक्जिम बैकसँग ऋण सम्झौता भएको हो।
जस लिन होड
सुरुका दिनमा कास्कीबाट निर्वाचित सांसद् शारदा पौडेल, यज्ञबहादुर थापा र रवीन्द्र अधिकारी लगायतका नेताहरुबीच विमानस्थल निर्माणको जस कसले लिने भन्ने विवादका कारण निर्माणले गति लिन नसकेको चर्चा चलेको थियो।
डेढ वर्षको अबधिमा चिनियाँ निर्माण कम्पनीका कामदाराहरु आएर माटो परीक्षणको काम गरे पनि विमानस्थलको आम्दानी एउटै खातामा जानुपर्ने मागका कारण लामो समयसम्म निर्माणको कामले गति लिन सकेको थिएन। चिनियाँहरुले राखेको यही एउटा मागबारे नेपाल सरकारले उचित समयमै ध्यान नदिँदा डेढ वर्ष अन्योलतामै वितेको हो।
सहुलियत दरमा ऋण अनुमोदन
उद्घाटन भएको डेढवर्षपछि चिनियाँ लगानीकर्ता एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकले विमानस्थल निर्माणका लागि दिने सहुलियत दरको ऋण अनुमोदन गरेको छ।
बैंकले ऋण अनुमोदन गरेपछि अर्थ मन्त्रालयलाई पत्राचार गर्दै ऋण अनुमोदन भएको जानकारी दिएको थियो। सरकारले एक्जिम बैंकसँग विमानस्थल निर्माणको कुल लागत २१ अर्ब ४७ करोड रुपैयाँमध्ये एक तिहाई रकममा विना व्याज र बाँकी रकम २ प्रतिशत व्याजदरमा ऋण उपलव्ध गराउने सम्झौता भएको छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रदीप अधिकारीका अनुसार मे ३१ देखि लागू हुनेगरी एक्जिम बैंकले ऋण अनुमोदन गरेको हो।
एक्जिम बैंकले अर्थ मन्त्रालयलाई पत्राचार गर्दै मे ३१ देखि ’लोन इफेक्टिभ’भएको जानकारी दिएको अधिकारीले बताए। उनका अनुसार ऋण अनुमोदन भएपछि विमानस्थलको निर्माण कार्य अघि बढ्नेछ।
सम्झौता अनुसार चार वर्षभित्र विमानस्थलको निर्माण सक्नुपर्ने हुन्छ। त्यसैले वर्षा सकिनासाथ भौतिक निर्माणको काम अघि बढाउने अधिकारीले बताए। ’अब निर्माण कम्पनीले काम अघि बढाउँछ, बैंकले आवश्यक रकम दिँदै जान्छ,’ उनले भने।
अधिकारीका अनुसार चिनियाँ निर्माण कम्पनीले अब निर्माणका लागि आवश्यक उपकरण र साधन चीनबाट ल्याउने छ। त्यसपछि भौतिक पूर्वाधारले गति लिनेछ।
निर्माणको ठेक्का पाएको चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी (सिएएमसी) को टोलीले बस्नको लागि गेष्ट हाउस तथा खानेपानीको व्यवस्था मिलाउन सुरु गरेको छ।
मनसुन अवधिमा भौतिक निर्माणको कार्य कठिन हुने भएकाले कम्पनीले बस्ने घर र खानेपानी लगायतको काम गर्ने र भदौ दोस्रो सातादेखि विमानस्थल निर्माण कार्य सुरु गर्ने तयारी थालेको छ।
विमानस्थल निर्माणको लागत र प्रक्रिया
विमानस्थल बनाउन २१ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। सरकारले एक्जिम बैंकसँग विमानस्थल निर्माणको कुल लागत २१ अर्ब ४७ करोड रुपैयाँमध्ये एक तिहाई रकममा विना व्याज र बाँकी रकम २ प्रतिशत व्याजदरमा ऋण उपलव्ध गराउने सम्झौता भएको छ।
प्राधिकरणले लिएको ऋण १३ वर्षमा चुक्ता गर्नुपर्ने छ। उनका अनुसार सुरुका सात वर्षलाई ’ग्रेस पिरियड’ मानिएको छ। त्यसैले प्राधिकरणले सात वर्षपछि मात्र ऋण तिर्न थाल्नेछ। वर्षमा दुई किस्ताका दरले २६ किस्तामा ऋण चुक्ता गर्नेगरी सम्झौता गरिएको छ।
त्यस्तै, विमानस्थल बनाउन पाँच सय २१ रोपनी जग्गा अधिग्रहण सकिएको छ। विमास्थल वरिपरी करिब पाँच किलोमिटर लम्बाइको १० मिटर चौडा सडक बनाउन थप ५० रोपनी जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ।
डिजाइनको बारेमा सल्लाह, सुझाव र स्वीकृतिका लागि प्राधिकरणले आवश्यक परामर्शदाता छनोटको कामसमेत गरिसकेको छ।
विमानस्थल वरिपरीको ढल निकास, पहिरो नियन्त्रण, मुख्य कार्यालयसम्म जाने सडका कालोपत्रेको काम पनि सकिएको छ। सबैगरी अहिलेसम्म करिब साढे पाँच अर्ब रुपैयाँ खर्च भइसकेको छ।
सरकार र प्राधिकरणको तयारी पूरा
विमानस्थलको शिलन्यास देखिनै नेपाल सरकार र नागरिक उड्यायन प्राधिकरणले आफ्नो तर्फबाट आवश्यक कामहरु निरन्तर गरिरहेको पोखरा क्षेत्रीय विमानस्थल निर्माण आयोजनाका प्रमुख अधिकारी बताउँछन्।
तीन अर्व रुपैयाँ जग्गा मुअव्जाको लागि बितरण गरिएको छ। सिभिल कन्स्ट्रक्सन, प्रोजेक्ट डिजाइनको कार्य र विमानस्थल वरिपरी रिङरोड निमार्णका लागि छुट्याएको एक अर्ब रकममध्येबाट संरचना निर्माण सम्वन्धी काम भएको छ।
त्यस्तै विमानस्थल निमार्णका क्रममा सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनाले सुरक्षा पोष्टको स्थापना गरी सुरक्षासमेत प्रदान गर्दै आएको छ।
विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईलाई ठेक्का दिएको थियो। विमानस्थल निर्माण गर्ने र निर्धारित समयमा नसके क्षतिपूर्तिसमेत नेपाल सरकारलाई दिनुपर्ने शर्त रहेको छ।
विमानस्थल अत्याधुनिक इपीसी मोडलमा निर्माण गर्ने संझौता कम्पनीसँग भएको छ। विमानस्थल निर्माका लागि पोखराको छिनेडाँडामा ४० वर्षअघि ३ हजार १सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। पछिल्लो समयमा आएर थप ६ सय रोपनी जग्गा आयोजनाले अधिग्रहण गरेको छ।
विमानस्थलमा ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको पक्की धावनमार्ग हने छ। यसमा बोइङ ७५७ आकार सम्मका जहाज उडान–अवतरण गर्न मिल्ने प्राधिकरणको भनाइ छ।